
नेपालमा कलाकारहरूको मूल्यांकन प्रायः अभिनय क्षमता र स्टारडम (अत्याधिक प्रसिद्धि)को आधारमा हुने गरेको छ । दुवैको आफ्नै विशेषता भए पनि अक्सर चर्चामा स्टारडम भएका कलाकारहरू नै हुन्छन् । अभिनयमा उम्दा मानिने कलाकारहरू भने खासै ‘लाइमलाइट’मा आउन सकेका हुँदैनन् । त्यस्ता कलाकारलाई ‘अन्डरडग’ भन्ने गरिएको छ ।
अभिनेता गौरव विष्ट पनि ‘अन्डरडग’ हुन् भन्दा अतिशयोक्ति हुँदैन । उनको चर्चा विरलै हुने गरेको भए पनि अभिनयमा उनले आफ्नो सम्भावना देखाइसकेका छन् । रंगमञ्चमा आफूलाई निखारेर ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’बाट फिल्ममा डेब्यू गरेका उनी दोस्रो फिल्म ‘परस्त्री’बाट दर्शकको नजरमा परेका थिए । यसमा उनको अभिनयको प्रशंसा भएको थियो ।
गौरवले स्टारहरूको जत्था रहेको फिल्म ‘पिताम्बर’मा समेत काम गरेका छन् । यो फिल्ममा उनी प्रदीप खड्काको घनिष्ट साथीको भूमिकामा प्रस्तुत भएका थिए । यसमा उनको अभिनय निकै प्रशावशाली देखिएको थियो । उनले गत वर्ष प्रदर्शन भएको फिल्म ‘के घर के डेरा : घर नं २’मा पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका थिए ।
यतिबेला हलमा उनी अभिनीत नयाँ फिल्म ‘एक मुठ्ठी बादल’ प्रदर्शनरत छ । यो फिल्ममा उनले ड्राइभरको भूमिकामा अभिनय गरेका छन् । उनको भूमिका लामो नभए पनि अर्थपूर्ण छ । अभिनय पनि स्वभाविक देखिन्छ । उनले यो फिल्मका लागि शरीरिक रूपान्तरणमा समेत निकै मिहिनेत गरेका थिए । आफ्नो पात्रमा फिट देखिन उनले ९ केजी तौल घटाएका थिए ।
आफूलाई ‘भर्सटायल’ बनाउने प्रयासमा रहेका गौरव छोटो समयमा दर्शक र मेकरबाट पाएको मायाले उत्साहित देखिन्छन् । उनी भन्छन्– ‘फिल्म क्षेत्रमा आएसँगै मैले दर्शकबाट जुन माया र साथ पाएको छु, त्यो मेरो लागि ठूलो उपलब्धि हो । मेकरहरूले पनि मलाई विश्वास गर्नुभएको छ । यसैले अब फिल्म क्षेत्रमा नै निरन्तर अगाडि बढ्ने सोचमा छु ।’

