Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारको एजेन्डामा ‘रोल नं १’ बनेको हो ?

फिल्मीखबर, काठमाडौं, 2026/05/27

roll no 1 movie

 

यही शुक्रबार (१५ जेठ)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’ले बाल मनोविज्ञानको विषयलाई उठान गरेको छ । परिवारले समाजमा आफ्नो इज्जत र प्रतिष्ठाका लागि सन्तानलाई कक्षामा प्रथम हुन दिने दबाब र त्यसले पार्ने प्रभावलाई फिल्मले मुख्य कथावस्तु बनाएको छ । फिल्मले नेपालको शैक्षिक प्रणालीमाथि समेत व्यंग्य गर्ने ट्रेलरले संकेत दिन्छ ।

फिल्मका मुख्य अभिनेता मुकुन भुसालका अनुसार प्रथम हुने मात्रै विद्वान हुन् भन्ने नेपाली समाजको बुझाइविरुद्ध फिल्मले आवाज उठाएको छ । उनी भन्छन्, ‘आफूले पूरा गर्न नसकेको सपना सन्तानमार्फत पूरा गर्न चाहने हाम्रो समाजको सोच हो । यसका लागि सन्तानलाई जबर्जस्ती पढ्न बाध्य बनाउने प्रयास गर्छौं । फिल्मले यसको विरुद्ध सशक्त रूपमा आवाज उठाउँछ ।’ 

गरिबीबाट बाहिर निस्किने उपाय शिक्षा मात्र हो भन्ने सोचका कारण प्रायः अभिभावकले छोराछोरीलाई पढ्न अनावश्यक रूपमा दबाब दिने गरेको उनी बताउँछन् । तर, पढाइमा दबाब दिनेभन्दा पनि सन्तानको रुचि अनुसार उनीहरूलाई स्वतन्त्र छोडिदिँदा मात्र उनीहरू सफल उनको बुझाइ छ । फिल्मले पनि यही सन्देश दिने उनले बताए । 

उनी भन्छन्, ‘सन्तानको भविष्य राम्रो होस् भनेर सकारात्मक सोचले अभिभावकले पढाइका लागि दबाब दिए पनि त्यसले पार्ने नकारात्मक प्रभावको कथा फिल्ममा देखाइएको छ । तर, पढ्नु पर्दैन अथवा पढाइमा मिहिनेत नगरे पनि हुन्छ भन्ने गलत सन्देश भने फिल्मले दिँदैन । जिन्दगीमा सफल हुन शिक्षित हुनैपर्छ भन्ने सन्देश फिल्मले प्रस्ट रूपमा दिएको छ ।’ 

अभिनेता सुशांक मैनालीले अभिभावकको दबाबका कारण छोराछोरीमा पर्ने मनोवैज्ञानिक असरको कथा फिल्मले भन्ने बताए । ‘यो फिल्म बाबु र छोराबीचको अन्तरद्वन्द्व पनि हो । हरेक अभिभावकमा मेरो छोरा म जस्तै अथवा म बन्न नसके पनि यो चाहिँ बनोस् भन्ने हुन्छ,’ उनी भन्छन्, ‘आफ्नो इच्छा छोरामार्फत पूरा गर्न दिने दबाब र त्यसका लागि हुने संघर्षको कथा यस फिल्ममा छ ।’

अहिलेको सरकारले कक्षा पाँचसम्म परीक्षा नलिन र विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सामेल गराउन निर्देशन दिइरहेका बेला ‘रोल नं १’ले पनि यही विषय उठान गरेको सुशांक बताउँछन् । तर, फिल्मले सरकारको एजेन्डा भने नबोकेको उनले स्पष्ट पारे । सरकारको निर्णयसँग फिल्मको कथा मिल्दोजुल्दो देखिनु संयोग मात्र रहेको उनको भनाइ छ ।

त्यस्तै, अभिनेत्री रेणु योगीले गरिबीमा आफ्नो सन्तान बाँच्न नपरोस् भनेर बाबुले सन्तानलाई दिने सपनाको कथामा फिल्म बनेको बताइन् । बाबुआमाले बच्चालाई पढाइमा अनावश्यक दबाब दिँदा उसको बाल मनोविज्ञानमा पर्ने प्रभाव फिल्ममा हेर्न सकिने उनको भनाइ छ । उनका अनुसार बच्चाहरू कति संवेदनशील हुन्छन् भन्ने यथार्थलाई पनि फिल्मले देखाउनेछ ।

Most Visited News (monthly)