.jpg)
पछिल्लो समय नेपाली कलाकारहरूलाई विभिन्न ट्याग दिने चलन बढिरहेको समयमा अब यस सूचीमा विजय बराल पनि थपिएका छन् । उनलाई नयाँ फिल्म ‘जिरो डिग्री’मा ‘नेचुरल स्टार’को ट्याग दिइएको छ । बिहीबार सार्वजनिक फिल्मको टिजरमा उनलाई उक्त ट्याग दिइएको देख्न सकिन्छ । ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि उनलाई ‘नेचुरल स्टार’ भन्न थालिएको थियो ।
फिल्मको टिजरमा विजय वडा अध्यक्ष पुन्य चौलागाईँको भूमिकामा देखिएका छन् । उनी गाउँको एक चलाख र चतुर जनप्रतिनिधि रहेको संकेत टिजरले दिन्छ । एक दृश्यमा उनी कार्यालयभित्र घुस लिइरहेका देखिन्छन् भने अर्को दृश्यमा पिठ्यूँमा दुईवटा पंखा बाँधेर घोडामा सवार देखिएका छन् । उनको गेटअप र हाउभाउ पनि निकै रोचक देखिन्छ ।
टिजरको एक दृश्यले भने दुर्गम गाउँको दुर्दशा दर्शाएको छ, जहाँ केही मानिसहरू ठूलो काठको बाकसको वरिपरि थकित मुद्रामा देखिएका छन् । विजय भने घोडामा चढेका छन् । बाकसभित्र के छ भन्ने नदेखाइए पनि सडक नहुँदा पहाडी भेगका जनताले भोग्नुपर्ने सास्ती र हुनेखाने वर्गको रवाफलाई फिल्मले हास्य शैलीमा प्रस्तुत गर्ने टिजरबाट अनुमान लगाउन सकिन्छ ।
‘बेहुली फ्रम मेघौली’का निर्देशक द्वय साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा विजयसहित सनिशा भट्टराई, प्रकाश घिमिरे, बसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, राजन भुसाललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा साजन र आकाश स्वयंको लेखन छ भने निर्माता पनि उनीहरू नै हुन् ।
मेघौली फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, शैलेस श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, अङ्कित बाबु अधिकारीको सङ्गीत तथा युवराज काफ्लेको शब्द रहेको छ । फिल्मलाई तिहारमा रिलिज गरिने जनाइएको छ । यद्यपि, प्रदर्शन मिति भने तय गरिएको छैन ।

