Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पानीफोटो’ हेर्न आग्रह गर्दै खगेन्द्र भन्छन्, ‘मप्रतिको विश्वास चुक्न दिन्नँ’

फिल्मीखबर, काठमाडौं, 2022/07/29
अभिनयमा आफूलाइ अब्बल रुपमा प्रस्तुत गरेका कलाकार खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । करीब दुई दशक अगाडि गुरुकुलमा मञ्चन भएको नाटकको कथावस्तुमाथि उनले फिल्म निर्माण गरेका हुन् । फिल्मले द्वन्द्वकालमा बेपत्ता भएको छोरालाई खोजी गरिरहेको एक दाम्पतीको कारुणीक कथा भनेको छ । 
 
शुक्रवार पत्रकारहरुसँग बसेर फिल्म हेरेपछि कलाकार लामिछानेले कथावस्तुले छोएरै आफूले फिल्म बनाएको बताए । फिल्मको हरेक पार्टले आफूलाई छुने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले अहिलेसम्म सयौंपटक फिल्म हेरिसकेको छु र हरेक पटक हेर्दा आफैंले नयाँ-नयाँ चिज भेटिरहेको हुन्छु । मेरो मनमा बसेको छ यो फिल्म । दर्शकलाई पनि फिल्मले छुन्छ भन्ने विश्वास छ ।’
 
khagendra lamichane
 
उनले आफूप्रति दर्शकले गरेको विश्वास यसपटक पनि चुक्न नदिने ठोकुवा गरे । ‘यसअघि मैले अभिनय गरेका कमर्शियल होस् वा अरु खालको फिल्म, दर्शकलाई निराशै बनाएको छैन । दर्शकहरुले पनि तपाईंको फिल्म हेरेर बर्बादै भयो भनेर भन्नुभएको छैन । यदी त्यो विश्वास अझै पनि मप्रति कायम छ भने ढुक्क भएर फिल्म हेर्न आउँदा हुन्छ । त्यो विश्वास म चुक्न दिन्नँ,’ खगेन्द्र सुनिए । 
 
फिल्ममा महत्त्वपूर्ण भूमिकामा अभिनय गरेकी अभिनेत्री मलिका महतले ‘पानीफोटो’ हेर्दा आफू भावुक भएको बताइन् । ‘फिल्म हेरिसकेपछि त्यसलाई व्यक्त गर्न मसँग शब्द छैन । फिल्म हेरिरहँदा म इमोसनल भएको थिएँ,’ उनले भनिन्, ‘कथावस्तुमा बग्दा म फिल्मभित्रै हराएँ । कति ठाउँमा मेरो आँखा रसायो । फिल्म हेरुन्जेल मन भारी भयो । म आफैं पनि आफ्नो कामबाट सन्तुष्ट छु ।’ 
 
फिल्मको छायांकन हुँदा निर्देशक खगेन्द्र लामिछानेले क्लिप्स हेर्न नदिएकाले मलिकालाई आफू कस्तो देखिएको छु र कस्तो काम गरेको छु भन्ने नै थाहा रहेनछ । त्यसैले पनि फिल्ममा आफूले गरेको काम हेर्न उत्सुक रहेकी उनी स्क्रिनमा आफूलाई हेर्दा कति ठाउँमा सरप्राइज भएको बताउँछिन् । त्यस्तै, अभिनेत्री मेनुका प्रधानले फिल्म हेरिरहँदा कथावस्तुमै आफू पनि बगेको बताइन् ।
 
फिल्ममा खगेन्द्र, मेनुका र मलिकाका अलावा अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय रहेको छ । फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।
Most Visited News (monthly)