
प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले नरेन्द्र महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ । शनिबार काठमाडौंमा आयोजित संघको ४९ औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा महर्जनले आफ्ना प्रत्यासी कुवेर शर्मालाई ६० मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । अब तीन वर्ष उनले संघको नेतृत्व गर्नेछन् । यसअघि उनी संघको महासचिव थिए ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्म ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । ग्रामीण परिवेशलाई पृष्ठभूमिमा राखेर तयार पारिएको दुईवटा पोस्टरमध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर प्रस्तुत छन् । डोको बोकेर हिँडिरहेका उनीहरु दम्पतीको भूमिकामा रहेको प्रष्ट बुझिन्छ । अर्को पोस्टरमा दयाहाङ काँधमा बन्दुक भिरेर चित्रित छन् ।

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ लामो समयदेखि स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदैछन् । छायांकनकै क्रममा आर्यन र प्रदीपको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । यसबीच, शनिबार पलको पनि पात्र लुक्स सार्वजनिक गरिएको छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको फिल्म ‘फर्की फर्की’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका अभिनेता अनमोल केसीको जन्मदिन पारेर शनिबार सार्वजनिक पोस्टरमा उनलाई मात्र स्थान दिइएको छ । उनी दुई फरक अवस्थामा चित्रित छन् । एउटामा सोचमग्न देखिएका उनी अर्कोमा कतै हिँडिरहेका देखिन्छन् । पोस्टरमा प्रयोग केही बिम्बले उनको चरित्रबारे संकेत गर्छ ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर ‘शो-स्टपर’को रुपमा र्याम्पमा उत्रिने जनाइएको छ ।

‘नुमाफुङ’बाट निर्देशनमा अग्लो कद बनाएका नवीन सुब्बाले करिब एक दशकपछि कमब्याक गरेको फिल्म ‘गाँउ आएको बाटो’ले यतिबेला अन्तर्राष्ट्रिय फेस्टिभलहरुको फन्को लगाइरहेको छ । टोरोन्टो, बुसान, गोटेबर्ग, मुम्बई, पुणे जस्ता फेस्टिभलहरुमा छनोट भएको फिल्म अब चीनको सबैभन्दा प्रतिष्ठित मानिने ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’को १२औं संस्करणमा छानिएको छ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

