मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धराने दर्शकले रुचाए 'म तिम्रो भईसकें'

अर्पण ढकाल, धरान, 2011/10/02

यतिबेला सम्पूर्ण नेपालीलाई दशैंको चटारोले छोएको छ । दशैंको किनमेल गर्न, आफ्नो घर फर्कन र दशैंलाई हर्षोल्लास पूर्वक मनाउने तयारीमा सबै ब्यस्त भएका छन् ।

 

नेपाली चलचित्र र दशैं बिदा एक अर्काको पर्याय मानिन्छ । बिशेषत केहि वर्ष यता दशैंको फूलपातीको दिनबाट चलचित्र रिलिज गर्ने प्रचलन बढ्नुको साथै टिकाको दिनबाट चलचित्रको व्यापार उत्साहजनक हुने गरेको छ । दशैंको बिदा भएपनि फूलपाती अगाडिको समयलाई अफ सिजन मानेर चलचित्र कमै प्रदर्शनमा आउने गर्छन् । तर यो मान्यतालाई चिर्दै फूलपाती भन्दा ३ दिन अगाडी अर्थात् असोज १३ बाट प्रदर्शनमा आएको चलचित्र  'म तिम्रो भईसकें' ले भने उत्साहजनक व्यवसायिक सुरुवात गरेको छ । अन्य स्थानमा १६ गतेबाट प्रदर्शन हुने क्रममा  रहेको चलचित्रले धरानको गणेश टाकिजमा  भने १३ गतेबाट नै प्रदर्शनको यात्रा थालेको छ ।


केहि चलचित्रकर्मीहरुले १३ गते चलचित्र रिलिज गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको बताए पनि आफुले हिम्मतका साथ धरानमा सोहि डेटमै चलचित्र प्रदर्शनमा ल्याएको चलचित्रका निर्माता एवं निर्देशक बिकाश आचार्यले  बताए । २ दिनमै चलचित्रले यो समयमा धरानमा गरेको  कलेक्सन र दर्शकको सकारात्मक प्रतिक्रियाले हौसिएका आचार्यले शनिबार धराने दर्शकसँगै चलचित्र हेरेका थिए । चलचित्रको प्रोमोसन र दशैं मनाउन आचार्य पूर्व आएका हुन् ।

 

शनिबार नै धरानका स्थानीय पत्रकार माझ चलचित्रको प्रेस सो समेत गरिएको छ । चलचित्र हेरिसकेपछि राम्रो चलचित्र बनेको भन्दै निर्देशक आचार्यलाई पत्रकारहरुले बधाई समेत दिएका थिए । कथाबस्तु अलावा चलचित्रको प्राबिधिक पाटो र भर्जिन लोकेसनले समेत चलचित्र हेर्ने सबैले रुचाएका थिए । त्यसो त आफ्नै गाउँठाउँको दृश्य चलचित्रको पर्दामा हेर्न पाउँदा धराने दर्शक हर्षित देखिन्थे । चलचित्रको मध्यान्तर पछिको भावनात्मक दृश्य र संवाद हेरेपछि अधिकांश दर्शकको आँखा रसाएको थियो ।

 

रेड क्यामेराले खिचिएको चलचित्रमा पूर्वको धरान, चतरा, भेडेटार लगायतका स्थानको दृश्यहरु समेटिएको छ । अफ सिजन मानिएको यो बेलामा  चलचित्र  'म तिम्रो भईसकें' ले गरेको व्यापार एकदमै उत्साहप्रद रहेको हल म्यानेजर भोला श्रेष्ठले बताए । धेरै पछि दशैंमा रिलिज भएको चलचित्र सफलताको बाटोमा अगाडी बढेको उनको कथन थियो ।

 

पूर्वको धरानमा मात्रै रिलिज भएको चलचित्र यहि १६ गतेबाट पश्चिमका अन्य स्टेसनसँगै दमक, बेलबारी, दुहबी,चक्रघट्टी, नेताचोक, लेटांग, झुम्कामा समेत प्रदर्शन हुदैछ । जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब के.सि, बिज्ञान सापकोटा लगायतका कलाकारको ससक्त अभिनय रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । बसन्तको संगीत मात्र हैन शम्भु सापकोटाको छायांकनको पाटोलाई समेत दर्शक एवं पत्रकारले प्रसंशा गरेका थिए । ।