काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा २’को टिजर र ‘अचेल किन कान्छी’ गीत यतिबेला चर्चामा छन् । यी दुवै सामग्रीले युट्युबमा ५० लाखभन्दा बढी भ्यूज पाइसकेको अवस्थामा बिहीबार निर्माण पक्षले दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक गरेको छ । गीतमा परदेशीको प्रसंगदेखि दसैंमा लगाइने टीका−जनरासम्मका विषय समेटिएका छन् ।
बाबुल गिरी, रचना रिमाल, रवि ओड र जुनु रिजालको स्वर रहेको गीतमा शब्द तथा संगीत बाबुल स्वयंको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्यलगायतले अभिनय गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दसैंको माहोल देखाइएको छ ।
असोज ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपाली (भटभटे माइला)लगायतका कलाकारहरूको पनि अभिनय छ । दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म हो । ‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत, राजेन्द्र मोक्तानको रंग संयोजन तथा राम−लक्ष्मण सेन्चुरीको द्वन्द्व निर्देशन छ । फिल्मले आमा−छोराको सम्बन्धलाई केन्द्रमा राखेर वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ ।

