
नेपाली मेकअप आर्टिस्ट तथा सौन्दर्य व्यवसायी लेमी तामाङले विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म ‘पेरिस फेसन विक’मा सहभागिता जनाएकी छन् । अन्तर्राष्ट्रिय सौन्दर्य क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव बटुलिसकेकी उनी सेप्टेम्बर २८ देखि अक्टोबर ६ सम्म फ्रान्सको राजधानी पेरिसमा आयोजित फेसन विकमा मेकअप आर्टिस्टका रूपमा सहभागी भएकी हुन् ।
पेरिस फेसन विकमा सहभागी हुने पहिलो नेपाली मेकअप आर्टिस्ट बनेकी उनले यो आफ्नो जीवनकै सबैभन्दा सुन्दर समयमध्ये एक रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘फेसन विकको व्यस्त पर्दापछाडिको माहोल, एक सातासम्म मुस्किलले निद्रा पुग्ने दिनचर्या र अस्तव्यस्तताका बीच पनि म आफ्नो सपना बाँचिरहेकी थिएँ । खुसीले आकाशमा उडेजस्तो महसुस भइरहेको थियो ।’
सानै उमेरदेखि कला र मेकअपप्रति रुचि राख्दै आएकी लेमीले नेपालबाट मेकअप आर्टिस्टको रूपमा करिअर सुरु गरेकी थिइन् । पछि भारतको मुम्बई पुगेर केही वर्ष सौन्दर्य र फेसन उद्योगमा काम गरिन् । त्यहाँ रहँदा उनले बलिउड अभिनेत्री दिशा पटानीको समेत मेकअप गरेकी थिइन् । मुम्बईपछि उनको व्यावसायिक यात्रा दुबईदेखि अमेरिकाको न्यूयोर्कसम्म पुग्यो ।
मेकअप आर्टिस्टका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी उनले सन् २०२१ मा आफ्नै मेकअप ब्रान्ड ‘प्यास्टेल ब्युटी’बाट व्यवसाय समेत विस्तार गरिन् । यो ब्रान्डका उत्पादनहरू विशेषगरी कोरियामा उत्पादन हुन्छन् । लेमीले सन् २०२५ मा जेनजी पुस्ताका नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘बिसु ब्युटी’ ब्रान्ड समेत सुरु गरेकी छन् ।
बेलायतकी चर्चित मेकअप आर्टिस्ट प्याट म्याकग्राथलाई आफ्नो प्रेरणाको स्रोत मान्ने उनले भारतको चर्चित फेसन पत्रिका ‘हार्पर्स बजार’ र इटालीको मिलानमा सुपरमोडलहरूसँग व्यावसायिक सहकार्य गरिसकेकी छन् । ‘आइईसी स्कुल अफ आर्ट एन्ड फेसन’मा फेसन डिजाइन अध्ययन गरेकी उनले नेपालमा नियमित रूपमा मेकअप कक्षा समेत सञ्चालन गर्दै आएकी छन् ।

