Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबिङ र लिपसिङ्क बिग्रिएपछि ‘टनेल २६’ले रोक्यो रिलिज

फिल्मीखबर, काठमाडौं, 2026/10/09

tunnel 26

 

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जोम्बी फिल्म ‘टनेल २६’ शुक्रबार (आज)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा थियो । केही मल्टीप्लेक्समा फिल्मको टिकट बुकिङ समेत खुला भइसकेको थियो । तर, बिहीबार साँझ ललितपुरको लबिम हलमा आयोजित प्रिमियरपछि निर्माण पक्षले अचानक फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गर्‍यो ।

बिहीबार मध्यरातमा निर्माता कम्पनी सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै फिल्मलाई विश्वव्यापी एकसाथ रिलिज गर्ने गरी तत्काललाई प्रदर्शन स्थगित गरिएको जनाएको छ । अब फिल्मलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ । 

तर, निर्माण पक्षले फिल्मको प्रदर्शन स्थगित गर्नुको कारण विश्वव्यापी रिलिजको तयारीलाई देखाए पनि यथार्थमा भने कुरा अर्कै छ । प्रिमियरमा फिल्म हेर्ने अधिकांशले स्वरांकन (डबिङ) र लिपसिङ्कमा ठूलो समस्या रहेको औंल्याएका थिए । यसले फिल्मलाई नै बिगारेको प्रतिक्रिया आएपछि प्रिमियरकै मध्यरातमा आकस्मिक बैठक बस्दै निर्माण पक्षले प्रदर्शन स्थगितको निर्णय गरेको हो ।

भुटानी भाषामा निर्माण भएको ‘टनेल २६’लाई नेपाली भाषामा डबिङ गरिएको छ । तर, फिल्मको ‘डबिङ क्वालिटी’ निकै कमजोर छ । अर्थात् आवाजको स्पष्टता छैन । फिल्मको डबिङ स्टुडियोमा नभइ मोबाइलबाट गरिएको अनुभूति हुन्छ । केही दृश्यमा डबिङ समेत छुटेको छ । भुटानी कलाकारको पात्रमा दिइएको नेपाली आवाज पनि स्वभाविक देखिएको छैन ।

फिल्मको अर्को ठूलो समस्या संवाद र पात्रको लिपसिङ्क (मुखको चाल) नमिल्नु हो । यो समस्या फिल्मभरि नै छ । यसले फिल्मको पोस्ट प्रोडक्सनमा ठूलो हेलचेक्र्याइँ भएको देखाउँछ । पोस्ट प्रोडक्सनमा नेपाली निर्माता र कलाकारको संलग्नता नहुनु पनि यसको एउटा कारण हुन सक्छ । अब फिल्मलाई पुनः नेपालीमा डबिङको तयारी गरिएको छ । 

 

bigepti tunnel 26


फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार ‘टनेल २६’को नेपाली डब फाइल प्रिमियर हुनुभन्दा केही घन्टा अगाडि मात्र नेपाल आएको थियो । यो फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम थाइल्याण्डमा भएको हो । त्यहाँबाट नेपाल आएको फाइल नेपाली टोलीले जाँच नै नगरी ‘इन्कोडिङ’का लागि पठाएको थियो । जसले गर्दा फिल्मको प्राविधिक कमजोरी प्रिमियरमा छताछुल्ल भयो ।

यो फिल्मको निर्माणमा नेपालबाट अर्बपति निर्वाण चौधरी (चौधरी ग्रपका अध्यक्ष विनोद चौधरीका छोरा) र अभिनेता प्रदीप खड्का जोडिएका छन् । तर, फिल्मको छायांकनदेखि पोस्ट प्रोडक्सनसम्म उनीहरूको कुनै संलग्नता नै रहेन । उनीहरू दुवै पूर्ण रूपमा भुटानी निर्देशक डीडी किन्लेमा भर पर्दा फिल्मको नेपाली भर्सनमा कमजोरी देखिएको प्रस्ट छ ।