Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्र र सुरक्षालाई लिएर दीपेन्द्रले गुपचुप बनाउँदैछन् ‘श्रीमान् श्रीमती’

फिल्मीखबर, काठमाडौं, 2026/10/08

dipendra k khanal new movie

 

असोज पहिलो सातादेखि काठमाडौंमा गुपचुप रूपमा एक फिल्मको छायांकन भइरहेको छ । त्यो फिल्म हो, ‘श्रीमान् श्रीमती’ । फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरिरहेका छन् । फिल्मको औपचारिक घोषणा नै नगरी सुरु भएको छायांकन अब बढीमा एक सातामा सकिने जनाइएको छ । निर्देशक खनालका अनुसार फिल्मको लगभग ९० प्रतिशत छायांकन पूरा भइसकेको छ ।

पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । ‘धनपति’ र ‘क्याप्टेन साब’पछि उनीहरूको यो तेस्रो सहकार्य हो । खगेन्द्र र सुरक्षा निर्देशक खनालका फिल्ममा दोहोरिरहने कलाकारमा पर्छन् । उनीहरू दुवैसँग दीपेन्द्रले ‘श्रीमान् श्रीमती’सहित पाँचवटा फिल्ममा सहकार्य गरेका छन् । 

निर्देशक खनालले फिल्म पारिवारिक कथामा आधारित रहेको जानकारी दिए । दर्शकले आफूलाई कथासँग जोड्न सक्ने गरी फिल्म बनाउने प्रयास गरिएको उनले बताए । उनले भने, ‘दर्शकले मन पराउने कथा प्रस्तुत गर्ने हाम्रो प्रयास हो । त्यसका लागि हामी इमान्दार भएर फिल्म निर्माणमा लागेका छौँ । पक्कै पनि इमान्दार भएर बनाइएको फिल्म दर्शकको रोजाइमा पर्छ ।’

दीपेन्द्र भावनात्मक सम्बन्धका कथालाई मिहीन ढंगले प्रस्तुत गर्ने निर्देशकका रूपमा चिनिन्छन् । ‘पशुपति प्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’बाट उनले आफूलाई अब्बल निर्देशकका रूपमा स्थापित गरिसकेका छन् । उनले ‘चपली हाइट’ जस्तो बोल्ड र ‘चंगा चेट’ जस्तो हास्यप्रधान फिल्म समेत बनाएका छन् । यसैले उनको छवि भर्सटायल निर्देशकको रूपमा बनेको छ ।