.jpeg)
काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा २’ प्रदर्शन हुन अब ६ दिन मात्र बाँकी छ । यही असोज ३० गते (१६ अक्टोबर)बाट प्रदर्शनमा आउन लागेको फिल्मका टिजर र दुई गीतले दर्शकमाझ राम्रो चर्चा पाइरहँदा अब निर्माण पक्षले ‘ग्राउन्ड जिरो प्रचार’ सुरु गरेको छ । लुम्बिनी प्रदेशको बुटवलबाट यो अभियान अघि बढाइएको हो ।
शुक्रबार साँझ बुटवलको गोलपार्कमा फिल्मको सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ पाँच हजारभन्दा बढी दर्शक उपस्थित थिए । कतिपय दर्शक बिहानैदेखि फिल्मका कलाकारहरूको पर्खाइमा बसेका थिए । जब साँझपख पल शाहसहितका कलाकारहरू स्टेज उक्लिए, तब दर्शकको हुटिङले माहोल नै गुञ्जायमान बनेको थियो ।
कार्यक्रममा पल शाह र मलिका महतले फिल्मको दसैँ गीत ‘रातो टीका लगाउँदा क्या दामी देखियो’मा नृत्य प्रस्तुत गरेका थिए । उनीहरूसँगै फिल्मका कलाकारहरू आकाश श्रेष्ठ, निकिता आचार्य र रिश्ता गुरुङ पनि सोही गीतमा छमछमी नाचे । गायक बाबुल गिरी र गायिका गंगा सोनामले भने फिल्मको ‘अचेल किन कान्छी’ गीत गाउँदै दर्शकलाई मनोरञ्जन दिएका थिए ।
बुटवलको कार्यक्रम उत्साहजनक भएपछि शनिबार बाँके जिल्लाको कोहलपुरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा पनि पलसहितका कलाकारहरू सहभागी हुने जनाइएको छ । कोहपुरपछि चितवन र अन्तिम कार्यक्रम काठमाडौंको गोङ्गबु क्षेत्रमा गर्ने तयारी गरिएको निर्देशक पन्तले जानकारी दिए ।
आमा-छोराको सम्बन्धको कथामा आधारित यस फिल्ममा विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपाली (भटभटे माइला)लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म हो । फिल्ममा निर्देशक पन्त स्वयंको लेखन छ ।

