Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टनेल २६’मा प्रदीप किन खेलेनन् ?

फिल्मीखबर, काठमाडौं, 2026/10/08

pradeep khadka

 

अभिनेता प्रदीप खड्का अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय छन् । उनले आफ्नो करिअरको सुरुवातमै ‘स्केप’ र ‘ठूलो मान्छे’ निर्माण गरेका थिए । ‘प्रेमगीत’को सफलतापछि भने अभिनयमा केन्द्रित भएका उनी अब १२ वर्षपछि फिल्म निर्माणमा फर्किएका छन् । उनी क्रियटिभ प्रोड्युसर रहेको फिल्म ‘टनेल २६’ भोलि शुक्रबार (२३ असोज)बाट प्रदर्शनमा आउँदैछ । 

यो फिल्ममा उनले अभिनय भने गरेका छैनन् । तर, सुरुमा उनको अभिनय रहने गरी नै फिल्मको तयारी गरिएको थियो । बुधबारको एक भेटमा उनले यसबारे भने, ‘यो फिल्ममा मैले पनि काम गर्ने भनेरै तयारी गरिएको थियो । २०२५ मा ‘ऐरी’ र २०२६ मा ‘टनेल २६’ गर्ने भनेर काम अगाडि बढेको थियो । तर, ‘ऐरी’को सुटिङ नै सकिएन । १६० दिनदेखि सुटिङ भएको भयै छ ।’ 

उनका अनुसार ‘ऐरी’ ठूलो स्केलमा बनेको फिल्ममा हो । यसैले आफूले यसलाई नै प्राथमिकता दिएको उनले बताए । सांगे सेल्ट्रिमसँग सहकार्य दोहोरिने भएकाले पनि आफूले ‘टनेल २६’ छाड्नु परेको उनको भनाइ छ । उनी भन्छन्, ‘सांगे दाइ ‘ऐरी’मा पनि हुनुहुन्छ । त्यसअघि ‘टनेल २६’मा आउँदा ‘ऐरी’लाई ‘सेलेबल’ बनाउन गाह्रो हुन्छ भन्ने भएपछि मैले बलिदान दिएँ ।’ 

उनका अनुसार सांगे सेल्ट्रिम (भुटानी कलाकार, जसले ‘राधे: द मोस्ट वान्टेड भाइ’, ‘जवान’, ‘रुस्लान’, ‘अल्फा’ जस्ता बलिउड फिल्ममा अभिनय गरेका छन्)सँग ‘ऐरी’का लागि भेट भएपछि ‘टनेल २६’ बनाउने कुरा अगाडि बढेको थियो । उनले यो फिल्मलाई ‘माउन्टेन बेल्ट’ (नेपाल, भारत र भुटान)को छुट्टै इन्डस्ट्री बनाउने प्रयासको रूपमा लिएका छन् । 

उनी भन्छन्, ‘यो फिल्म बनाउनुको उद्देश्य नै ‘माउन्टेन बेल्ट’को इन्डस्ट्री खडा गर्नु हो । विश्वभर जोड्ने हो भने नेपाली भाषी मात्र ५−६ करोड छन् । उहाँहरूसम्म नेपाली फिल्म पुर्‍याउन सकियो भने बजार कति ठूलो हुन्छ होला । यसैले अरु प्रोडक्ट बेच्न नसके पनि फिल्म त बेच्न सकिन्छ भन्ने लागेर नै ‘ऐरी’ र ‘टेनल २६’ बनाएका हौं । अब यसपछि यार्सागुम्बासम्बन्धी एउटा प्राजेक्ट छ ।’ 

जोम्बी कथामा आधारित ‘टनेल २६’ हलिउड वा कोरियन ड्रामाबाट प्रभावित भएर निर्माण नभएको पनि प्रदीपले स्पष्ट पारे । उनी भन्छन्, ‘यो जोम्बी फिल्म भए पनि अरुभन्दा फरक नै छ । यो हलिउडमा देखेर आएको जोम्बी होइन । यो मिथकसँग आधारित छ । भुटानमा एउटा पूजा गर्ने देउता हुन्छ र उसको थानलाई हटाएपछिको घटनाक्रम हो फिल्म । त्यो नितान्त हाम्रो ‘आइडिया’ हो ।’