
बलिउड अभिनेता नाना पाटेकरले बिहीबार गोवास्थित आफ्नै निवासमा अन्तिम सास लिए । उनको निधन हृदयघातका कारण भएको हो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई तत्कालै गोवाको मणिपाल अस्पताल लगिएको थियो । तर, चिकित्सकले अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए । उनको निधनले सिंगो बलिउड स्तब्ध भएको छ ।
नानालाई बलिउडदेखि नेपाली कलाकारहरूले समेत सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि एक पोस्ट गर्दै नानाको निधनको खबरले आफूलाई दुःखी बनाएको बताएकी छन् । उनले लेखेकी छन्, ‘फिल्म क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान र आफ्नो कर्मप्रतिको समर्पण सधैँ स्मरणीय रहनेछ ।’
कुनै समय बलिउडमा मनिषा र नानाको सम्बन्धलाई लिएर निकै चर्चा हुने गरेको थियो । पहिलो पटक उनीहरूले फिल्म ‘अग्निसाक्षी’ (१९९६)मा जोडीका रूपमा काम गरेका थिए । यही फिल्मको निर्माणका क्रममा उनीहरूबीच निकटता बढेको थियो । त्यसपछि फिल्म ‘खामोशी : द म्युजिकल’मा पनि सँगै काम गरेपछि उनीहरू भावनात्मक रूपमा अझ नजिक भएका थिए ।
नानासँग सम्बन्ध प्रगाढ हुँदै गएपछि मनिषा उनकी आमा र छोरालाई भेट्न घरमा समेत जाने गरेकी थिइन् । एक अन्तर्वार्तामा नाना स्वयंले यसबारे खुलासा गरेका थिए । त्यसबेला उनी श्रीमतीसँग अलग बस्दै आएका थिए । तर, डिभोर्स भने भनेको थिएन । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न नमानेपछि मनिषा उनीबाट टाढिँदै गएको भारतीय मिडियाका पुराना रिपोर्टमा उल्लेख छन् ।
यद्यपि, नानाले मनिषाको प्रसंग आउँदा सधैं उनको तारिफ गर्ने गरेका थिए । सन् १९९७ मा दिएको एक अन्तर्वार्तामा उनले मनिषालाई आफूले देखेको सबैभन्दा संवेदनशील अभिनेत्रीमध्ये एक बताएका थिए । नानाले भनेका थिए, ‘उनी सबैभन्दा संवेदनशील अभिनेत्री हुन् । उनी कस्तुरी मृगजस्तै हुन् । उनीसँग सबैथोक छ र त्यो नै पर्याप्तभन्दा बढी हो ।’

