Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टनेल २६’ सर्दा ‘अक्षरा’लाई एकल रिलिजको अवसर

फिल्मीखबर, काठमाडौं, 2026/10/09

nancy khadka

 

नेपाली फिल्मको यस साताको रिलिज समीकरण फेरिएको छ । शुक्रबार (आज)बाट प्रदर्शन हुने भनिएका दुई फिल्ममध्ये ‘टनेल २६’ पोस्टपोन्ड भएको छ । बिहीबार ललितपुरको एक हलमा आयोजित प्रिमियरलगत्तै फिल्मको प्रदर्शन मिति स्थगित गरिएको हो । फिल्मलाई विश्वव्यापी एकसाथ रिलिज गर्ने गरी तत्काललाई प्रदर्शन रोकिएको निर्माताले जनाएका छन् ।

‘टनेल २६’को प्रदर्शन स्थगित हुँदा अर्को फिल्म ‘अक्षरा’ले एकल रिलिजको अवसर पाएको छ । यसले फिल्मको व्यापारमा फाइदा पुग्ने अपेक्षा गरिएको छ । महिला संवेदनाको कथामा आधारित यो फिल्मले देशव्यापी ६० भन्दा बढी शो पाएको छ । तर, फिल्मको टिकट बुकिङ भने अपेक्षित देखिएको छैन । अब फिल्मको व्यापार दर्शकबाट प्राप्त हुने प्रतिक्रियामा निर्भर रहनेछ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, रिस्ता बस्नेत, सृष्टि खड्का, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । विनयराज पौडेलले फिल्मको निर्देशन गरेका हुन् । 

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।