
आउँदो मे ६ देखि १० (बैशाख २३ देखि २७ गते) सम्म काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ३१ देशका ६३ फिल्म छनोट भएका छन् । नेपाली फिचर फिल्मबाहेक महोत्सवमा ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागीता जनाएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।


तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली रिमेक निर्माण हुँदैछ । यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले फिल्मका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोल (पुरुष र महिला) का लागि अडिसन आह्वान गरेको छ । चाँडै अडिसन आयोजना गर्ने तयारीमा निर्माण टिम छ ।

फिल्म ‘म त तिम्रै हुँ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भिडियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यद्यपि, दर्शकहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका छन् ।

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले आउँदो साउनमा हुन लागेको बार्षिकोत्सवमा एक जना फोटोग्राफरलाई पुरस्कृत गर्ने भएको छ । शनिवार चलचित्र पत्रकार संघ नेपालको आयोजना र बोर्डको सहकार्यमा भएको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष दयाराम दाहालले यो घोषणा गरेका हुन् ।

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन् ।

