
कोरोना भाइरस र लकडाउनका कारण भारतका सिनेमा हलले ११ महिना लामो बनवास झेल्नुपर्यो । जसका कारण निर्माण भइसकेका कयौं फिल्म प्रदर्शनमा आउन सकेनन् । भारत सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएपछि भने अहिले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा भइरहेका छन् । यो तीन दिनमा मात्र ११ ठूला फिल्मको रिलिज डेट घोषणा भएको छ ।
यशराज, टीसीरीज, ज्याकी भगनानी, दिनेश विजान, धर्मा प्रोडक्सन, रिलायन्स इन्टरटेनमेन्ट र आनन्द एल रायले ‘सन्दिप र पिंकी फरार, बन्टी और बबली २, शमशेरा, जयेशभाई जोरदार, पृथ्वीराज, झुन्ड, चन्डिगढ करे आशिकी, बेल बटम, ८३, अतरंगी रे र शेरशाह’ को प्रदर्शन मिति घोषणा गरेका छन् । यी फिल्मले बक्सअफिसमा १५ सय करोड बढी छाप्ने अनुमान गरिएको छ ।
ट्रेड एनालिस्ट तरन आदर्शले कोरोना भाइरस र लकडाउनले बक्सअफिसको खुसी लुटे पनि अब त्यो फर्किने आश व्यक्त गरेका छन् । उनी भन्छन्, ‘केवल यी ११ फिल्मले १५ सय करोडभन्दा बढी कमाउने सामर्थ राख्छन् । तर, यो रकम पनि सानो हुनेछ, किनकि सबै फिल्म मेजर हुन् । सबै फिल्ममा ठूलो कास्ट एन्ड क्रियू छ । स्टार पावरले दर्शकलाई सिनेमा घरसम्म तान्न सक्छ ।’
यस वर्ष अक्षय कुमारको मात्र चार फिल्म ‘सूर्यवंशी बेल बटम, पृथ्वीराज र अतरंगी रे’ प्रदर्शनमा आउनेछन् । ‘बच्चन पान्डे’ अर्को वर्ष आउनेछ । ‘बेल बटम र पृथ्वीराज’ को भने अर्को ठूलो फिल्मसँग भिडन्त हुँदैछ । ‘बेल बटम’ हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ सँग र ‘पृथ्वीराज’ शाहिद कपूरको ‘जर्सी’ सँग भिड्नेछ । अन्य फिल्मको पनि रिलिज डेट आउने क्रम जारी छ ।

