
कोरोनाको डरले अझै केही समय दर्शक सिनेमा हलसम्म आउँदैनन् भनेर बसेका निर्माताहरु बलिउड फिल्म ‘सूर्यवंशी’ ले नेपालमा आक्रामक व्यापार गरेपछि तात्न थालेका छन् । ठूला ब्यानरहरु अब आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा जुटेका छन् । यसबीच, अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चपली हाइट ३’ ले पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

‘कालो पोथी’ फेम्ड निर्देशक मीन बहादुर भामले बनाउन लागेको नयाँ फिल्म ‘अ इयर अफ कोल्ड’ (चिसो वर्ष) ले ताइवानको प्रतिष्ठित संस्था ताइपेइ फिल्म कमिसनबाट २.५ मिलियन डलर (१ करोड ६५ लाख) को फन्ड जितेको छ । गत अक्टोबर २५ मा नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको फिल्मले २.५ मिलियन डलरको ताइपेइ फिल्म फन्ड पाउने घोषणा भएको हो ।

अभिनेता राजेश हमालले करीब चार वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘सत्यम्’ मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारीमा छ । तिहारअघि फिल्मका कलाकारहरुले धम्पुसमा दश दिनसम्म वर्कसप गरेका थिए । शंकर कार्कीले निर्देशन गर्ने यस फिल्ममा हमालसँगै पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापतिको पनि मुख्य भूमिका रहनेछ ।

कोरोना महामारीका कारण नेपालमा सिनेमा घरहरु महिनौं बन्द भए । पहिलो चरणको महामारीमा ९ महिना र दोस्रो चरणको महामारीमा साढे ५ महिना बन्द भएका हलहरु दशैं छेकोबाट सञ्चालनमा आएका छन् । तर, तिहार जस्तो चाडमा हलमा नेपाली फिल्म छैन । गोवर्धन पूजाको दिनबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले नेपालका हलहरुमा कब्जा जमाएको छ ।

फिल्म ‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक भएको छ । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको वियोगान्त गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहिको संगीत र राज सागरको स्वर छ । सुदुरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकिय स्थानमा खिचिएको यो फिल्मले मौलिक विषयवस्तुमा समावेश भएको प्रेमकथा भन्ने निर्देशक माधवराज खरेलले जानकारी दिए ।

कोरोना महामारीले नेपालमा कुनै क्षेत्र सबैभन्दा बढी प्रभावित छ भने त्यो फिल्म क्षेत्र हो । पहिलो चरणको महामारीमा फिल्म क्षेत्रका गतिविधि करीब ९ महिना ठप्प रहे । बीचमा केही महिना खुले पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि बन्द भयो । फिल्मकर्मी र फिल्म सम्बद्ध संघ-संस्थाको अथक मिहिनेतपछि गत भदौबाट सरकारले हल खोल्न र छायांकनको अनुमति दियो ।

