फिल्म र रंगमञ्चको क्षेत्रमा स्थापित नाम हो, उषा रजक । ‘इकु, कुसुमे रुमाल २, कथा’ फिल्ममा अभिनय गरिसकेकी उनी रसियन नागरिकसँग विवाह गरेपछि किर्गिस्थान उडेकी थिइन् । त्यहाँ ७ वर्ष विताएकी उनले ८ वर्षपछि फिल्म ‘कठपुतली’ बाट अभिनयमा कमब्याक गरेकी छन् । यो फिल्ममा काम गर्नका लागि उनले श्रीमानसँग सम्बन्ध विक्षेद गरेको खबर समेत बाहिर आएको थियो ।
तर, उषाले श्रीमानसँग डिभोर्स भएको कुरामा सत्यता नभएको बताएकी छन् । मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भनिन्, ‘श्रीमानसँग भेटघाट भइरहन्छ । डिभोर्सको कुरा चाहिँ हल्लै हल्ला हो । केही समयअघि उहाँ नेपाल आएर जानुभयो । लकडाउनमा म र बच्चा तीन महिना किर्गिस्थान गएर बसेका थियौं । मेरो सपना पूरा गर्नका लागि परिवारबाट राम्रो साथ छ ।’
.jpg)
‘कठपुतली’ मा अभिनय गर्न यूएनडिपीको जागिरसँग भने आफूले डिभोर्स गरेको उनको कथन छ । ‘सन् २०१८ को कुरा हो । म यूएनपिडीमा काम गर्थेँ । त्यतिक्कैमा सम्पदा मल्लले फिल्म ‘कठपुतली’ को अफर गर्नुभयो । जब मैले स्क्रिप्ट पढेँ, तब मलाई मुक्ति पाएको जस्तो महशुस भयो । अनि, मैले यूएनडिपीको जागिर छाडेरै फिल्ममा अभिनय गर्नका लागि नेपाल आएँ,’ उनले भनिन् ।
जमानामा कमर्शियल फिल्ममा अभिनय गर्दा धेरै फिल्मबाट अफर आउने गरेको स्मरण गर्दै उनले त्यसबेला आफूले प्रायः निर्माता/निर्देशकहरुलाई मौलिक कथामा फिल्म बनाउन आग्रह गर्ने गरेको बताएकी छन् । ‘कठपुतली’ को कथावस्तु आफूले खोजेको जस्तै पाएपछि फिल्ममा काम गर्नका लागि किर्गिस्थानबाट यूएनडिपीको जागिर छाडेर नेपाल आएको अभिनेत्री उषाको भनाई छ ।
आजसम्म खुल्ला आँखाले हरर फिल्म नहेरेको बताउने उषा ‘कठपुतली’ मा भने भूत बनेकी छन् । उनी यो फिल्म पनि आफूले खुल्ला आँखाले हेर्न नसक्ने बताउँछिन् । तर, फिल्ममा अभिनय गर्दा रमाइलो भएको उनको अनुभव छ । पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित फिल्म यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । फिल्मले राज दरबारमा हुने भूत-प्रेतको कथा भन्नेछ ।

