अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको युगल गायन रहेको गीतमा प्रशान्त स्वयंको संगीत तथा सुष्मा सिग्देलको शब्द छ । सिफनको साडी र सुनका गरगहनामा सजिन चाहने महिलाको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी तथा सुदीप बरालको छायांकन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहसहित ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्कीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा ठूलो संख्यामा कोरस राखिएको छ भने पहिरन र प्रप्समार्फत नेपाली संस्कृति झल्काउन खोजिएको छ ।
तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा दिल, सृष्टि, नीति र नम्रतासहित मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । दिलले यही फिल्मबाट ९ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् ।
दिया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माताको रूपमा छन् । फिल्मको कथा दिल श्रेष्ठको हो भने पटकथा तथा संवाद ध्रुव लम्सालले तयार पारेका हुन् । फिल्ममा प्रेमकथा र पारिवारिक सम्बन्धलाई मुख्य विषय बनाइएको जनाइएको छ ।

