Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साम्राज्य’मा कसको जोडी बन्दैछिन् अञ्जना ?

फिल्मीखबर, काठमाडौं, 2026/08/24

anjana baraili

 

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारहरू भित्रिने क्रम जारी छ । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल अनुबन्धित भइसकेको फिल्ममा अब मुख्य अभिनेत्रीको टुंगो लागेको छ । फिल्ममा पहिलो महिला कलाकारको रूपमा अञ्जना बराइलीलाई अनुबन्धित गरिएको हो । 

फिल्ममा अञ्जनाको जोडी चार अभिनेतामध्ये कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन । उनले सौगातबाहेक दयाहाङ, विजय र नाजिरसँग यसअघि काम गरिसकेकी छन् । दयाहाङसँग ‘महाभोज’मा सहकार्य गरेकी उनको विजयसँग ‘पूर्णबहादुरको सारङ्गी’मा जोडी बाँधिएको थियो । नाजिरसँग भने उनले केही म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माताको रूपमा छन् । सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको छायांकन आगामी साताबाट पूर्वको कोशी ब्यारेक क्षेत्रमा सुरु हुनेछ ।

निर्देशक चौधरीले ‘साम्राज्य’लाई ठूलो स्तरमा निर्माण गर्ने तयारी गरेका छन् । उनका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ हुनेछ । फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको उनले बताए । उनले यसअघि फिल्म ‘अगस्त्य’बाट एक्सनमा राम्रो सम्भावना देखाइसकेका छन् । ‘साम्राज्य’ उनको चौथो निर्देशकीय फिल्म हुनेछ ।