.jpg)
अभिनेत्री सुहाना थापाको यस वर्षका लागि दोस्रो फिल्म ‘बा: एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर काम गरेकी छन् । अर्थात् उनी रोमान्टिक भूमिकामा छैनन् । उनले विवाहित छोरीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा उनको आमाबुबाको भूमिकामा झरना थापा र दिव्यदेव छन् ।
सुहाना फिल्मलाई फरकपन बोकेको फिल्मको रूपमा अर्थ्याउँछिन् । फिल्ममा आफ्नो पात्र पनि फरक रहेको उनको भनाइ छ । भन्छिन्, ‘हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको ‘सेक्रिफाइज’ (त्याग) याद हुन्छ । तर, हामी त्यसलाई बाबा–आमाका अगाडि भन्न सक्दैनौँ । मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी ‘सेक्रिफाइज’ गर्नुभएको छ भनेर ‘डिफाइन’ गरिदिएको छ ।’
‘बा: एक योद्धा’को कथा दर्शकलाई आफ्नै जस्तो लाग्ने उनको विश्वास छ । ‘फिल्ममा रमाइलो र ‘कनेक्ट’ गर्ने कुरा धेरै छन् । दर्शकलाई आफ्नै कथाजस्तो पनि लाग्न सक्छ । किनकि, फिल्ममा सन्तानका लागि बाबा–आमाले गरेको त्याग र संघर्षको कथा छ । यसैले सबै उमेरका दर्शकलाई फिल्म मनपर्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
उनी फिल्ममा आफू काम गर्न तयार हुनुको पछाडि यसको कथा मुख्य कारण रहेको बताउँछिन् । ‘फिल्ममा एउटा छोरीका लागि बुबाले गरेको जुन त्याग छ, मलाई त्यो कुराले काम गर्न लोभ जगाएको हो । फिल्ममा मेरो पात्रले नै कथालाई अगाडि बढाउँछ,’ उनले भनिन्, ‘फिल्मको बुबा र मेरो बुबा चाहिँ बिल्कुलै फरक हुनुहुन्छ । तर, इमोसन (भावना) चाहिँ फरक छैन ।’
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सुहानासहित दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मका निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन तथा हरि लम्सालको संगीत छ ।

