.jpg)
गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २५ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार फिल्मले भदौ ७ गते आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको उक्त कमाइ ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्रीबापत भएको हो ।
सर्वकालीन दोस्रो धेरै कमाउने फिल्म बनिसकेको ‘गौँथली’ले पछिल्लो ७ दिनमा मात्र डेढ करोडभन्दा बढी कमाइ गरेको छ । फिल्मको यो व्यापार प्रदर्शनको पाँचौ हप्ताको हो । यसरी हेर्दा फिल्मप्रति दर्शकको आकर्षण अझै नघटेको देखिन्छ । तर, अब फिल्मका लागि सबैभन्दा ठूलो चुनौती भदौ १० गतेबाट प्रदर्शन हुने साउथ फिल्म ‘टक्सिक’ हुनेछ ।
बोर्डले ‘गौँथली’सँगै साउनका अन्य दुई फिल्म ‘हली’ र ‘लज्जावती’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । साउन २२ गते रिलिज भएको ‘हली’ले ७ भदौ (आइतबार)सम्म २२ लाख ९३ हजार ९२० रुपैयाँ ग्रस कमाएको छ । अघिल्लो साताभन्दा फिल्मको यो व्यापार १ लाख १६ हजारले मात्र बढी हो । फिल्मका अहिलेसम्म ८ हजार ३८५ वटा टिकट बिक्री भएका छन् ।
त्यस्तै, साउन २९ गते रिलिज भएको ‘लज्जावती’ले ७ लाख ६८ हजार ४५० रुपैयाँ ग्रस कमाएको छ । आइतबारसम्म फिल्मका २ हजार ६९६ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांकमा देखिन्छ । साउनमा रिलिज भएको अर्को फिल्म ‘कमला मिस’को भने दोस्रो साताको कमाइ विवरण बोर्डले सार्वजनिक गरेको छैन । यसको अर्थ पहिलो साताबाटै फिल्म सम्पूर्ण हलबाट उत्रिएको छ ।

