.jpg)
२०८९ सालको सुपरहिट फिल्म ‘झिंगेदाउ’ भदौ ५ गतेबाट युट्युबमा सार्वजनिक भइसकेको छ । फिल्म रिलिज भएसँगै भ्यूजको बाढी नै आएको छ । रिलिजको तीन दिनमै २२ लाखभन्दा बढीले फिल्म हेरिसकेका छन् । फिल्मलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । अब यो फिल्मको सिक्वेल ‘झिंगेदाउ २’ असोज २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले तीजलाई लक्षित गर्दै शनिबार काठमाडौंमा एक गीतको छायांकन गरेको छ । भदौ १० गते सार्वजनिक गर्ने तयारी गरिएको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माले नृत्य प्रस्तुत गरेका छन् । जेठानी–देउरानीको झगडालाई पनि समेटिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी र आँचलसहित महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मले घरायसी झगडालाई केन्द्रमा राखेर सम्बन्धको कथा पेस गरेको छ ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।

