.jpg)
२०८० सालको सुपरहिट फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले नयाँ फिल्म ‘खसेको तारा’ निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशकमा उनले सुयोग गुरुङलाई अनुबन्धित गरिसकेका छन् । सुयोग तिनै निर्देशक हुन्, जसले गत वर्ष ‘जेरी अन टप’ जस्तो ब्लकबस्टर फिल्म दिएका थिए । उनी ‘सानो मन’ र ‘फर्की फर्की’का पनि निर्देशक हुन् ।
फिल्मको मुख्य भूमिकामा अनमोल केसी र जसिता गुरुङ तय भइसकेका छन् । यसअघि उनीहरू ‘जेरी अन टप’मा जोडीको रूपमा प्रस्तुत भएका थिए । अनमोल र सुयोगको सहकार्य भने ‘फर्की फर्की’ (२०८१)बाट सुरु भएको हो । पछिल्लो समय अनमोलले सबैभन्दा बढी विश्वास गर्ने निर्देशक नै सुयोग हुन् । यसैले उनीहरूबीच फिल्ममा लगातार सहकार्य हुँदै आएको छ ।
सिनेमा आर्ट प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन मंसिरदेखि सुरु हुनेछ । निर्माता कँडेलका अनुसार अहिले कलाकार छनोटसँगै प्रि–प्रोडक्सनको काम भइरहेको छ । कँडेलले यसअघि ‘दिमाग खराब’सहित ‘कबड्डी’, ‘पुरानो डुङ्गा’, ‘मिस्टर झोले’, ‘झुम्की’, ‘घामपानी’, ‘आप्पा’, र ‘फेरि रेशम फिलिली’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।
‘खसेको तारा’भन्दा अघि अनमोलले आफ्नो नयाँ फिल्म ‘ए मेरो हजुर ५’को छायांकन पूरा गर्नेछन् । केही दिनमा बाजुरा जिल्लाको बडीमालिकाबाट फिल्मको छायांकन सुरु हुँदैछ । त्यसपछि उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘बाटुलो जून’को प्रचारमा व्यस्त हुनेछन् । यो फिल्म दशैंमा प्रदर्शन हुने तयारीमा छ । जसिताले पनि ‘खसेको तारा’अघि एक फिल्ममा अभिनय गर्नेछिन् ।

