(1).jpeg)
‘प्रेमगीत’का निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सुरु गरेका छन् । आइतबार बिहान तालनगरी पोखरामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट प्रदीप खड्का र सनिशा भट्टराईले दिए । ४५ दिनसम्म छायांकन हुने फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन २१ गते प्रदर्शन गरिँदैछ ।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप र सनिशासहित हरिहर शर्मा, बसुन्धरा भुसाल, विशाल पहारी, अन्शु महर्जन, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहनेछ ।
सुप्रिया कटुवाल निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् । फिल्मको कथा प्रदीप श्रीवास्तवको हो भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन तथा विक्रम स्वारको नृत्य निर्देशन रहनेछ ।
‘शुभ विवाह’मार्फत सुदर्शन र प्रदीपले ८ वर्षपछि फिल्ममा सहकार्य गरेका हुन् । ‘प्रेमगीत’ रिलिजपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध थियो । यद्यपि, बीचमा सुदर्शनले केही फिल्मको अफर भने प्रदीपलाई गरेका थिए । तर, त्यसबेला उनीहरूबीच सहकार्य हुन सकेन । अब ‘शुभ विवाह’ले उनीहरूलाई पुनः एक ठाउँमा ल्याएको छ, जुन दर्शकका लागि पनि चासोको विषय बनेको छ ।

