
प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा मुख्य अभिनेत्रीको टुंगो लागेको छ । शुक्रबार निर्माण पक्षले आकृति बुढाथोकीलाई फिल्ममा अनुबन्धित गरेको हो । अभिनयको हिसाबले उनको यो दोस्रो फिल्म हुनेछ । उनले फिल्म ‘मुक्तिपुर’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । उनले केही नाटकमा समेत अभिनय गरेकी छन् ।
फिल्ममा आकृतिको जोडी अभिनेता कबीर खड्कासँग बाँधिनेछ । कबीर केही महिनाअघि नै फिल्ममा अनुबन्धित भएका हुन् । उनले यसअघि ‘लम्फू’, ‘गुञ्जन’, ‘एक भागवत गीता’ र ‘लण्डन टू पेरिस’सहित केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘लम्फू’पछि उनी पहिलो पटक मुख्य अभिनेताको रूपमा देखिन लागेका हुन् ।
नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्ममा अन्य पात्रहरू अस्ट्रेलियाबाटै छनोट गरिने जनाइएको छ । सितारा फिल्म्स र कबीर खड्का फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावलको लगानी रहनेछ । अनमोल थापाको संगीत रहने फिल्ममा निर्देशक पौडेल स्वयंको कथा तथा अनिल कुर्मीको पटकथा लेखन छ । मुख्य सहायक निर्देशकमा सुनिल निउरे रहेका छन् ।
यो फिल्मको घोषणा हुँदा ‘मेरो अधुरो प्रेम’ नाम राखिएको थियो । तर, कथाअनुसार ‘मायालु’ शीर्षक सान्दर्भिक हुने भएपछि नाम फेरिएको निर्देशक पौडेलले बताए । उनका अनुसार ‘मेरो अधुरो प्रेम’ नाममा पनि फिल्म निर्माण हुनेछ । उनले ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जानकारी दिए । निर्देशनको हिसाबले उनको यो तेस्रो फिल्म हुनेछ ।

