.jpg)
कुमार गजुरेलको निर्देशनमा बनेको फिल्म ‘सारथी’ मंसिर ११ गते (२७ नोभेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । पोस्टरमा अभिनेत्री निरुता सिंह काखमा बच्चा लिएर सुमसुमाइरहेकी देखिन्छिन् । यसले फिल्ममा उनी आमाको भूमिकामा रहेको प्रस्ट पार्छ ।
पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरमा निरुताले गम्छाले टाउको बाँधेकी छन् । रातो फरिया लगाएकी उनको अनुहारमा पीडाको भाव झल्किएको छ । खुट्टाका औंलाबाट रगत बगेका छन् । उनको हुलियाले आर्थिक अवस्था कमजोर रहेको दुःखी पात्रको संकेत गर्छ । निरुताले सामाजिक सञ्जालमा पोस्टर सेअर गर्दै ‘सारथी’लाई आफ्नो करिअरको नयाँ अध्याय भनेकी छन् ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, सन्तोष ढकाल, आशा विश्वकर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘दर्पण छायाँ’ जोडी निरुता र उत्तमको यो दुई दशकपछिको सहकार्य हो ।
सम्पादकको रूपमा परिचित तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्ममा रदीप श्रेष्ठ र प्रदीप रायमाझी निर्माताको रूपमा छन् । कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन् भने लाइन प्रोड्युसरमा अमीर केसी रहेका छन् । फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् । बाबुल गिरी र प्रशान्त सिवाकोटीले फिल्मका गीतमा संगीत दिएका छन् ।

