
अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ले प्रदर्शन यात्रा सुरु गरेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो । फिल्मले देशव्यापी ६० भन्दा बढी शो पाएको छ । तर, फिल्मप्रति दर्शकको उत्साह भने देखिएको छैन । बिहानी शोमा फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि पुग्न सकेन ।
प्रदर्शनपूर्व ‘म्याथ सिक्ने भए’ गीतका कारण फिल्म विवादमा तानिएको थियो । त्यसबेला सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान समेत चलेको थियो । विवादले उग्र रूप लिएपछि प्रियंकाले युट्युबबाट गीत हटाउँदै दर्शकसँग माफी मागेकी थिइन् । तर, सोही गीतका कारण अहिले पनि उनीमाथि सामाजिक सञ्जालमा असभ्य टिप्पणी हुने गरेको छ ।
आफ्नो प्रोडक्सन हाउसको पहिलो फिल्म भएकाले प्रियंकाले ‘मास्टर्नी’को निर्माणदेखि प्रचारसम्म कुनै कसर छाडेकी छैनन् । एक महिनाअघि उनले ८ दिनसम्म फिल्म पुनः छायांकन गरेकी थिइन् । ‘म्याथ सिक्ने भए’ गीत विवादमा परेपछि दर्शक रिझाउन अर्को गीत समेत ल्याइन् । प्रचारको सिलसिलामा भैरहवासम्म पुगिन् । यी सबै गतिविधिले फिल्मप्रति उनको गम्भीरता झल्काउँछ ।
भारतीय मूलका शुभेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंकासहित सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सरोज खनाल, जितु नेपाल, ऋचा शर्मा, अनुपविक्रम शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले सेन्सर बोर्डबाट १६ वर्षमुनिका दर्शकले हेर्न नमिल्ने गरी ‘एडल्ट’ सर्टिफिकेट पाएको छ ।

