
आगामी असोज २ गते बक्स अफिसमा त्रिपक्षीय भिडन्त हुने भएको छ । ‘झिँगेदाउ २’ र ‘कार्की साइँला’ मात्र भिड्ने तय भएको यो मितिमा अब अर्को फिल्म ‘माया बस्छ कि क्या हो !’ पनि थपिएको छ । शुक्रबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो । यो फिल्म निर्माणको ५ वर्षपछि प्रदर्शन हुन लागेको हो ।
पोस्टरमा फिल्मका मुख्य जोडी सोनाल तामाङ र कस्मता निरौलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो उनीहरू दुवैको डेब्यू फिल्म हो । पोस्टरले फिल्म जेनजी पुस्ताको प्रेमकथामा आधारित रहेको संकेत गर्छ । फिल्ममा सोनाल र कस्मतासहित नरेन्द्र थापा, रिचा थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, जेपी पाण्डे, तारा शर्मालगायतका कलाकारहरूको अभिनय छ ।
राजु अधिकारीको निर्देशनमा बनेको फिल्ममा शरद अधिकारी प्रस्तुतकर्ता र बहादुर सिंह तामाङ निर्मातामा छन् । फिल्ममा आरती अधिकारी आचार्यको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, रविन्द्र बरालको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौं र चित्लाङसहित बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा गरिएको छ । प्रस्तुतकर्ता अधिकारीका अनुसार दर्शकलाई प्रेमको नौलो आभास गराउन युरोप पुगेर फिल्मको छायांकन गरिएको हो । उनले यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौं’ लगायतका फिल्म निर्माण गरिसकेका छन् ।

