Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’लाई चुनौती दिन हलमा लागे ‘रोल नं १’सहित तीन फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/05/29

three movie

 

गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले तीन सातादेखि बक्स अफिसमा आफ्नो दबदबा कायम गरिरहेको अवस्थामा यसलाई चुनौती दिन शुक्रबारबाट तीन फिल्म ‘रोल नं १’, ‘सेप अफ मोमो’ (छोरा जस्तै) र ‘कुम्भ’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै फिल्म फरक-फरक कथा र कथ्य शैलीमा बनेका हुन् ।

‘रोल नं १’ बाल मनोविज्ञानमा आधारित फिल्म हो । समाजमा आफ्नो इज्जत र प्रतिष्ठाका लागि अभिभावकले आफ्नो सन्तानलाई दिने पढाइको दबाब र त्यसले पार्ने प्रभावको कथा फिल्मले प्रस्तुत गरेको छ । यसमा मुकुन भुसाल, रेणु योगी, निर्भिक रेग्मी, सुशांक मैनाली, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । 

‘रोल नं १’लाई कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेका हुन् । यसैले पनि फिल्मप्रति दर्शकमा उच्च अपेक्षा देखिएको छ । जोन योञ्जनको निर्देशनमा बनेको यस फिल्ममा महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउन्ड डिजाइन रहेको छ । 

‘सेप अफ मोमो’ भने भारत र नेपालमा एकसाथ प्रदर्शनमा आएको हो । भारतमा यो फिल्मलाई तमिल अभिनेता राणा दग्गुबतीको ‘स्प्रिट मिडिया’ले प्रदर्शनमा सहयोग गरेको छ भने जोया अख्तर, पायल कपाडिया जस्ता भारतीय फिल्मकर्मी कार्यकारी निर्मातामा छन् । यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागी भएर केही अवार्ड समेत जितेको छ । 

सिक्किमकी त्रिवेणी राईको निर्देशनमा बनेको यस फिल्ममा भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया, श्यामाश्री शेर्पालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाहरूको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत, र पहिचानको कथा प्रस्तुत गरेको छ । 

त्यस्तै, ‘कुम्भ’ प्रेम र बदलाको कथामा आधारित छ । रन्धिर श्रेष्ठको निर्देशनमा बनेको यस फिल्ममा अशोक आर्यन, सुनील थापा, सुशील पोखरेल, रोहित रूम्बा, सृष्टि खड्का, सुरेन्द्र ठाकुरलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले देशभर जम्मा १२ वटा शो पाएको छ । यो नेपाली फिल्मको इतिहासै सबैभन्दा कम शो पाउने फिल्म हो ।

Most Visited News (monthly)