मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ र आँचल स्टारर ‘डिग्री माइला’ टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/02/19

DAYAHANG RAI | AANCHAL SHARMA

 

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् ।

टिजरको तेस्रो खण्ड अर्थात् क्लाइमेक्समा बाउ-छोराबीचको गन्थनमन्थन छ । उक्त दृश्यमा दयाहाङले आफूलाई चौधरी ग्रुपबाट ४ लाख पारिश्रमिकसहित जागिरको प्रस्ताव आउँदा पनि काम नगरेको तथ्य बाबु माओत्से गुरुङलाई सुनाएका छन्, जुन निकै रोचक छ । टिजरले फिल्मको कथा गाउँमा केन्द्रित रहेको बुझाउँछ । यो फिल्म २०८१ को नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन हुनेछ ।

फिल्ममा प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईं लगायतको पनि अभिनय छ । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिराज र सुष्मा गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सिमोन कृष छन् । फिल्मलाई शिवराम श्रेष्ठ र रिले एच. शेनले छायांकन गरेका हुन् ।

नाटकमा आधारित भएर बनेको फिल्म हो, ‘डिग्री माइला’ । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । अत्यन्त सफल मानिएको यो नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए भने सायद अशोकको लेखन थियो । नाटकले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशालाई उठाएको थियो । फिल्मको कथा पनि यही हो ।