.jpg)
हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ दुई महिना लामो नेपाल बसाइँपछि पुनः अमेरिका फर्किएका छन् । गत जेठ अन्तिममा छोरी सुबिहानीको साथमा नेपाल आएका उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै राज्यले आफ्नो आवाज नसुनेपछि ऋण र पीडाको भारी बोकेर मातृभूमिबाट फेरि फर्किन बाध्य भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ । राज्यका ढोका–ढोका पुगेँ । न्यायको आशामा राज्यलाई गुहारेँ । तर, न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो ।’
आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको गुनासो गर्दै उनले अगाडि भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ । १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला ।’
उनले राज्यसँग आफ्नो आशा अझै बाँकी रहेको पनि बताएका छन् । ‘मन भारी भएको छ । ओठ कापेका छन् । आँखा रसाएका छन् । तर, हृदयको कुनै कुनामा आशा अझै बाँकी छ । कुनै दिन राज्यले सम्झिनेछ,’ उनले भनेका छन्, ‘समयले सत्य बोल्नेछ । हाम्रो पीडा सुनिनेछ । त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ । अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ ।’
सीताराम दम्पतीमाथि चितवनमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको १८ करोडभन्दा बढीको ऋणको भारी छ । त्यो ऋणको विवाद सुल्झाउन सीतारामले राज्यसँग हारगुहार गरे पनि समस्या समाधान हुन सकेको छैन । रंगशालाको ऋण फर्स्यौट नभएपछि उनी निराश भएर छोरीको उपचारका लागि भन्दै अमेरिका गएका थिए । उनले अमेरिकी ग्रीनकार्ड समेत लिइसकेको बताइन्छ ।

