चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक तथा अभिनेत्री श्रद्धा प्रसाईं फिल्म निर्देशनमा पनि सक्रिय हुन थालेकी हुन् । उनको पहिलो निर्देशकीय फिल्म ‘ककाकिकी’ भदौ १९ गते प्रदर्शन हुँदैछ । उनलाई अभिनेत्री रेखा थापाले आफ्नो नयाँ कमेडी फिल्म ‘काउकुती’को समेत निर्देशन गर्ने जिम्मा दिएकी छन्, जुन यसै वर्ष निर्माण हुँदैछ ।
तर, ‘काउकुती’भन्दा अगाडि श्रद्धाले अर्को फिल्म ‘डियर काव्या’ निर्देशन गर्ने भएकी छन् । बिहीबार काठमाडौंको विजेश्वरीस्थित होटल बज्रमा आयोजित विशेष समारोहका बीच फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । त्यस अवसरमा फिल्मको ३० फिट लामो फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो ।
आगामी मंसिरमा छायांकन हुने फिल्ममा उपासना सिंह ठकुरी र विक्की शमशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । थिएटर पृष्ठभूमिका विक्कीले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
गोल्डेन वल्फ पिक्चर्सका लागि देवी सिंह र हेमकुमारी भेटुवालले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा दीया मास्के र सन्दीप दंगोल रहेका छन् । अभिनेत्री समेत रहेकी दीयाले यही फिल्मबाट निर्माणमा हात हालेकी हुन् । उनको अभिनय रहने वा नरहनेबारे भने निर्माण पक्षले जानकारी गराएको छैन । फिल्मलाई नेपालगन्जमा छायांकन गर्ने तयारी गरिएको छ ।

