Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मास्टर्नी’ प्रिमियर : केकीदेखि सञ्जोगसम्मले के भने ?

फिल्मीखबर, काठमाडौं, 2026/08/20

mastarni movie

 

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार ललितपुरको लबिम मलमा आयोजित प्रिमियरमा फिल्मकर्मीसँगै विभिन्न क्षेत्रका व्यक्तिले फिल्मको कथा, प्रस्तुति र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे । कतिपयले क्राइम थ्रिलर जनरामा बनेको अहिलेसम्मकै उत्कृष्ट फिल्मको समेत संज्ञा दिए ।

अभिनेत्री केकी अधिकारीले फिल्मले दर्शकलाई हलको सिटमा बाँधेर राख्ने दाबी गरिन् । उनले भनिन्, ‘फिल्म एकदमै रमाइलो र ‘फ्रेस’ छ । यो जनराका लागि त उत्कृष्ट नै छ भन्दा फरक पर्दैन । फिल्मले दर्शकलाई सिटमा ‘होल्ड’ गरेर राख्छ । कलाकारहरूको काम पनि एकदमै राम्रो छ । ‘सस्पेन्स’ पाटो उस्तै गजब छ । म एकपटक फेरि फिल्म हेर्छु ।’ 

अभिनेता सञ्जोग कोइरालाले फिल्म रमाइलो लागेको बताए । ‘मैले धेरैपछि राम्रो थ्रिलर फिल्म हेरेको हुँ । फिल्मले २ घन्टा हलमा बाँधेरै राख्यो,’ उनले भने, ‘क्राइम थ्रिलर नेपालमा कम बन्ने जनरा हो । र, यो जनराले राम्रो गरेको उदाहरण पनि कम छ । तर, निर्देशकको सोच र सबै टिमको काम राम्रो भयो भने थ्रिलर फिल्मले दर्शकलाई बाँधेर राख्छ । त्यो कुरामा ‘मास्टर्नी’ सफल छ ।’ 

अभिनेत्री तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एकदमै रमाइलो र रोचक छ फिल्म । कलाकारहरूको काम पनि राम्रो छ । फिल्म हेरिरहँदा कामको प्रशंसा गर्ने कि फिल्मको भनेर दोधारमा समेत परेँ ।’ उनले प्रियंका कार्कीको अभिनयले फिल्मलाई अझ सशक्त बनाएको पनि बताइन् ।

प्रिमियरमा गौरी मल्ल, जितु नेपाल, प्रमोद अग्रहरी, लुनिभा तुलाधर, सन्ध्या केसी, ओसिन सिटौला, शिल्पा मास्के, तेरिया फौजा मगर, इभा गिरी, खुसी कार्कीलगायतका कलाकारहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले फिल्मको कथावस्तु र कलाकारहरूको कामको प्रशंसा गर्दै नेपालमा क्राइम थ्रिलर जनरामा अझ धेरै फिल्म बन्नुपर्ने धारणा व्यक्त गरे । 

प्रिमियरमा प्रियंका भने भावुक देखिएकी थिइन् । फिल्म सुरु हुनुअघि आफ्नो अनुभव सुनाउने क्रममा उनका आँखा रसाएका थिए । फिल्म सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पहिलो निर्माण भएकाले पनि धेरै कुरा सम्झिएर भावुक हुन पुगेको बताइन् । फिल्मलाई मिलेको प्रतिक्रियाले आफूलाई थप भावुक बनाएको उनको भनाइ थियो । 

यही शुक्रबारबाट प्रदर्शनमा आउने ‘मास्टर्नी’मा प्रियंका आफैँ मुख्य भूमिकामा छिन् भने सिम्रन खड्का, आर्यन सिग्देल, दीपकराज गिरी, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, ऋचा शर्मा, जितु नेपाललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।