Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक ४ मा ‘के घर के डेरा’, आफ्नै फिल्मसँग दया र विपिन भिड्ने

फिल्मीखबर, काठमाडौं, 2022/07/06
दशैंपछि तिहार विदा फिल्म प्रदर्शनका लागि उचित समय मानिन्छ । तिहारमा ५ दिन लामो विदा हुने भएकाले अरु समयमा भन्दा फिल्मको व्यापार केही राम्रो हुन्छ । त्यसैले पनि निर्माताहरुबीच तिहारमा फिल्म रिलिज गर्न ठूलो रस्साकस्सी हुने गर्छ । निर्माण हुनुभन्दा अगावै तिहारलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिन्छ । यसपालीको तिहारमा पनि चार फिल्म भिड्ने भएका छन् । 
 
तिहारलाई लक्षित गर्दै कात्तिक ४ गतेलाई तीन फिल्म ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ले प्रदर्शन मिति तोकिसकेकोमा अब यही मितिमा फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शन हुने भएको छ । बुधवार राजधानीमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै दीपेन्द्र के. खनाल निर्देशित फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको गत हप्ता छायांकन सकिएको थियो । 
 
निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको फिल्म ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको हो । घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो फिल्मलाई फागुन १९ मा सारिएको छ । शर्मिलाले जेठो छोरा (दीपेन्द्र) को फिल्मका लागि ‘परस्त्री’को रिलिज डेट सारेको जानकारी दिइन् । 
 
k ghar k dera
 
‘के घर के डेरा’ र ‘परस्त्री’को प्रदर्शन मिति घोषणा कार्यक्रममा शर्मिलाले भनिन्, ‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा (दीपेन्द्र के. खनाल) को फिल्मका लागि प्रदर्शन मिति छाडेको हुँ ।’ ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
 
‘के घर के डेरा’ले कात्तिक ४ लाई प्रदर्शन मिति घोषणा गर्दा सबैभन्दा मार अभिनेता द्वय दयाहाङ राई र विपिन कार्कीलाई परेको छ । यो फिल्ममा दुवैको मुख्य भूमिका छ भने ‘दुई नम्बरी’मा दयाहाङ र ‘प्रसाद २’मा विपिन मुख्य भूमिकामा छन् । कात्तिक ४ गतेलाई प्रदर्शन मिति तोकेका फिल्ममध्ये कुनै टसमस नभए तिहारमा दयाहाङ र विपिनले आफ्नै फिल्मसँग भिडन्त गर्नुपर्नेछ ।
 
‘के घर के डेरा’मा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ । फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
Most Visited News (monthly)