Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

घमण्डी सोच्नेलाई साम्राज्ञीको जवाफ- ‘म एकदमै विन्दास छु’

फिल्मीखबर, काठमाडौं, 2022/07/04
गत वर्ष फिल्म ‘ह्यारी की प्यारी’को छायांकन सकाएपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले नयाँ फिल्म ‘लण्डन टू पेरिस’ साइन गरेकी थिइन् । एक महिना वर्कसपमा समय विताएपछि उनी फिल्मका अन्य तीन कलाकारहरु गरिमा शर्मा, कबीर खड्का र निश्चल खड्काको साथमा सोमवार लण्डन उडेकी छन् । निर्देशकसहितको टोली भने केही दिन अगाडि नै लण्डन पुगिसकेको छ ।
 
फिल्मको सुटिङका लागि लण्डन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग गफिँदै साम्राज्ञीले एक महिना वर्कसपमा एकसाथ समय विताएको टिमसँग काम गर्न रमाइलो हुने बताइन् । ‘लण्डन टू पेरिस’बाट डेब्यू गर्न लागेका कलाकारहरुलाई वर्कसपमा आफूले कम्फर्टेबल बनाउने प्रयास गरेको उनको भनाई छ । उनले आफूलाई घमण्डी सोच्नेलाई पनि जवाफ फर्काइन् ।
 
उनले भनिन्, ‘मलाई कहिल्यै नभेटेको र नचिनेको मान्छेमा मेरो बारेमा बेग्लै धारणा बनेको छ । मलाई प्रत्यक्ष भेट्दा पनि मान्छेले सुरुमा घमण्डी वा अप्ठ्यारो छ कि भनेर सोच्ने गर्छन् । म त्यस्तो कदापी छैन । म एकदमै विन्दास छु । मसँग तपाईं राम्रो हुनुहुन्छ भने तपाईंसँग म झन् राम्रो हुन्छु । मैले फिल्मको वर्कसप भइरहेको समयमा पनि सबैलाई हामी कम्फर्टेबल हुनुपर्छ भनेर भन्थेँ ।’ 
 
Samragyi rl shah
 
‘लण्डन टू पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी गरिमा शर्माले पनि साम्राज्ञीलाई भेट्नुअघि उनको बारेमा बेग्लै धारणा बनाएकी रहेछिन् । तर, भेटघाटपछि साम्राज्ञीलाई विल्कुलै फरक पाएको उनको अनुभव छ । उनी भन्छिन्, ‘मलाई पनि साम्राज्ञी दिदी अरुसँग घुलमिल हुन सक्नुहुन्न कि भन्ने लाग्थ्यो । तर, कसैलाई नचिनी जज गर्नुहुन्न भन्ने उदाहरण साम्राज्ञी दिदी हुनुहुन्छ ।’
 
वर्कसपमा नर्भस भएको समयमा साम्राज्ञीले कम्फर्टेबल बनाएको गरिमा सम्झन्छिन् । उनी अगाडि भन्छिन्, ‘वर्कसपमा हाम्रो मेन्टर सरिता गिरी (रंगकर्मी) हुनुहुन्थ्यो । सेकेन्ड मेन्टर चाहिँ साम्राज्ञी दिदी हुनुहुन्थ्यो । मेरो यो डेब्यू फिल्म हो । के होला, कस्तो होला भनेर नर्भसनेश भइरहेको अवस्थामा साम्राज्ञी दिदीले एकदमै कम्फर्टेबल बनाइदिनुभयो । साम्राज्ञी दिदी फ्रेन्डली पनि हुनुहुन्छ ।’ 
 
‘लण्डन टू पेरिस’बाट नायकको रुपमा डेब्यू गर्न लागेका निश्चल खड्काले पहिलो फिल्ममा राम्रो टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरे । साम्राज्ञीसँग स्क्रिन शेयर गर्न खुशी र उत्साहित रहेको उनको भनाई छ । त्यस्तै, अभिनेता कबीर खड्काले पहिलो पटक विदेशमा सुटिङ अनुभव बटुल्न लागेकोमा खुशी प्रकट गर्दै आफ्नो तर्फबाट राम्रो काम निकाल्न सकेको प्रयास गर्ने बताए । 
 
एबी इन्टरनेशनलले निर्माण गर्न लागेको फिल्मको बेलायत र फ्रान्समा छायांकन हुनेछ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । ‘लण्डन टु पेरिस’को निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह रहेका छन् । ‘पञ्चेबाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेले फिल्मको निर्देशन गर्दैछन् । 
Most Visited News (monthly)