Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘श्री’ हलमा पनि लाग्ने, सन्दिप भन्छन्, ‘मेरो करिअरको उत्कृष्ट फिल्म’

फिल्मीखबर, काठमाण्डौ, 2021/04/06
कोरोना महामारीको समयमा बेरोजगार भएका प्राविधिकहरुलाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले निर्देशक एभरेष्ट सूर्य बोहोराले २० लाखको लगानीमा निर्माण गरेको फिल्म हो, ‘श्री’ । यही शुक्रवार निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै चैत २७ गतेलाई ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्ने घोषणा गर्‍यो । त्यसबेलासम्म फिल्मलाई सिनेमा हलमा रिलिज गर्ने कुनै योजना थिएन ।
 
अब यो फिल्म ओटीटीसँगै चैत २७ गतेबाट सिनेमा हलमा पनि प्रदर्शन हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच निर्माण टिमले यसबारेमा जानकारी गरायो । फिल्मको ट्रेलर मन परेपछि सिनेमा हलमा पनि प्रदर्शनका लागि आफूले गरेको आग्रह निर्देशक बोहोराले स्वीकार गरेको वितरक करण श्रेष्ठले बताए । फिल्म क्षेत्रलाई ‘श्री’ ले चलायमान बनाउने उनको विश्वास छ । 
 
 
कार्यक्रममा उनले भने- ‘एभरेष्ट दाईको टिमले फिल्मलाई ओटीटी प्लेटफर्ममा मात्र रिलिज गर्न लाग्नुभएको थियो । मलाई ट्रेलर निकै राम्रो लागेपछि हलमा पनि रिलिजका लागि आग्रह गरेँ । उहाँहरु सहर्ष तयार हुनुभयो । हलमा दर्शक आउँछन् वा आउँदैनन् थाहा छैन तर दर्शकका लागि फिल्म हलमा लाग्छ । यो समयमा ‘श्री’ ले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि गर्छ भन्नेमा विश्वस्त छु ।’
 
सविता गुरुङको निर्माण रहेको फिल्ममा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ । सन्दिपले ‘श्री’ आफ्नो करिअरको उत्कृष्ट फिल्म रहेको दाबी गरे । यसमा आफू ‘कम्फर्ट जोन’ (हास्य भूमिका) बाट बाहिर निस्किएर अभिनय गरेको उनको भनाई छ ।
 
उनले भने- ‘मैले आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर अभिनय गरेको छु । त्यो मेरो लागि सबैभन्दा ठूलो चुनौती थियो । मलाई गम्भीर खालको भूमिकामा सूर्य दाईबाहेक आजसम्म कसैले विश्वास गरेको थिएन । मैले जति पनि फिल्म गरेँ त्यसबाट सन्तुष्ट छु । तर, यसपटक ठोकुवाका साथ भन्छु कि ‘श्री’ हामीले बडा राम्रोसँग बनाएका छौं । र, यो मेरो करिअरको उत्कृष्ट फिल्म हो ।’
 
शेरबहादुर तामाङको छायांकन र सुजन बडालको सम्पादन रहेको फिल्म एभरेष्ट सूर्य बोहरा फिल्मस्, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको हो । फिल्मलाई राजधानीमा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ । ओटीटीमा भने ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा फिल्म एकसाथ रिलिज हुनेछ ।
 

ट्रेलर हेर्नुहोस् :-

 

Most Visited News (monthly)