
अर्विन्द राज गुरुङको निर्देशनमा फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को सोमवारबाट छायांकन सुरु भएको छ । प्रेमकथामा बन्न लागेको फिल्मको नेपाल र भारतको दार्जिलिङ, सिक्किम, कोलकातामा सुटिङ हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटिया मुख्य भूमिकामा छन् ।
नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ । चञ्चल थापाले खिचिरहेको फिल्मलाई रेनिस फागोको कलर ग्रेडिङ गर्नेछन् । ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी रिश्माले फिल्मको कथा मनपरेकोले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ मा अभिनय गर्न तयार भएको बताइन् ।
आफूलाई धेरै फिल्मबाट अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को स्क्रिप्ट र आफ्नो चरित्र मनपरेकोले काम गर्न सहर्ष राजी भएको उनको भनाई छ । उनी पछिल्लो पटक फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा देखिएकी थिइन् । तर, यो फिल्ममा उनको केमियो भूमिका थियो । गत वर्ष बैबाहिक जीवनमा बाँधिएकी उनले अब नेपाली फिल्ममा काम नगर्ने घोषणा समेत गरेकी थिइन् ।

