अभिनयमा कमजोर मानिने अभिनेता अनमोल केसी आफ्नो चरित्रलाई जीवन्त तुल्याउन भने खुबै मेहनत गर्ने गरेका छन् । फिल्म ‘कृ’ यसको उदाहरण हो । यो फिल्मका लागि कपाल पाल्न, शरीर सुगठित बनाउन र एक्सन सिक्न उनी एक वर्ष बनवास नै बसे । यसपछि फिल्म ‘क्याप्टेन’ मा फुटबल खेलाडीको भूमिकामा देखिन उनले तौल घटाउनुका साथै फुटबलको तालिम समेत लिए ।
यसबीच, उनले छायांकनरत फिल्म ‘ए मेरो हजुर ४’ का लागि पनि चरित्रमा फिट हुन १० केजी तौल घटाएका छन् भने कपाल पनि निकै छोटो बनाएका छन् । केही दिन अगाडि शे-फोक्सुण्डो तालमा फिल्मको शिर्ष गीत खिचेर फर्किएको निर्माण टिमले शुक्रवारदेखि काठमाडौंको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा अनमोल गम्भीर विरामी भएर उपचारार्थ भएको दृश्य खिचिरहेको छ ।
.jpg)
निर्माण टिम अनमोलले कपाल काटेपछिको लुक्स फिल्म रिलिज अगाडि सार्वजनिक गर्ने सोचमा थिएन । तर, अस्पतालको प्रांगणमा छायांकन भइरहँदा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकटकमा अनमोलको लुक्स सार्वजनिक गरिदिएका छन् । यो भिडियो यतिबेला टिकटकमा निकै भाइरल भएको छ । उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जगाएको छ ।
टिकटकमा भेटिएको भिडियोमा अनमोल दुब्लो देखिएका छन् भने कपाल पनि निकै छोटो छ । उनले अस्पतालमा विरामीले लगाउने निलो रंगको पहिरन लगाएका छन् । टिकटकमा भाइरल भएको सिन फिल्मको क्लाइमेक्स रहेको बुझिएको छ । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले मोबाइलबाट खिचेर अनमोलको लुक्स सार्वजनिक गरेपछि निर्माण टिम तनावमा देखिएको छ ।
झरना थापाको निर्देशनमा बनिरहेको फिल्ममा अनमोलको जोडी सुहाना थापासँग बाँधिएको छ । उनीहरुले दोस्रो पटक सँगै काम गरेका हुन् । फिल्ममा सलोन बस्नेत पनि प्रमुख भूमिकामा छन् । सुनिल कुमार थापा निर्माता रहेको फिल्म आउँदो वर्षको भदौ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कोरोनाका कारण अधुरैमा रोकिएको फिल्मको छायांकन दशैंबाट सुरु भएको हो ।

