लामो समयदेखि स्क्रिप्ट राइटरको रुपमा सक्रिय शिवम अधिकारीले केही समयका लागि स्क्रिप्ट राइटिङबाट विश्राम लिने घोषणा गरेका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले आफू मानसिक रुपमा तयार नभएसम्मका लागि स्क्रिप्ट लेखनबाट विश्राम लिएको जानकारी गराएका छन् । स्क्रिप्ट राइटिङको विधाबाट आफू थाकेको महशुस भइसकेको पनि उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी सबैलाई थाहा छ स्क्रिप्ट राइटिङ कठिन विधा हो । मैले पनि यही कठिन विधा रोजेँ, किनकि म मेहनत गर्न चाहन्थेँ, संघर्ष र प्रतिस्पर्धाबाट आफूलाई खरो उभ्याउनु थियो, आफूलाई प्रमाणित गर्नु थियो । र, आज करिअरको १४ वर्षको अन्तरालमा करीब १५० फिल्म र दर्जनौं टेलिफिल्ममा आफूलाई उभ्याउँदा उभ्याउँदै पनि यो विधाबाट थाकेको महसुस भइसक्यो ।’
कोभिड १९ ले सृजित विषम परिस्थितिमा पनि चारवटा फिल्म र दुईवटा टेलिफिल्मलाई निरन्तरता दिइरहेको उनले बताएका छन् । स्क्रिप्टको लागि उपयुक्त वातावरण र मानसिक समस्यामुक्त हुनुपर्ने भए पनि धेरैजसो फिल्मकर्मीले यो तथ्यलाई नबुझ्ने गरेको उनको गुनासो छ । स्क्रिप्ट जस्तो कुरा आज वा भोली नै चाहियो भनेर काम गर्न नसक्ने अवस्था सृजना भएको उनको कथन छ ।
लेखक अधिकारीले अगाडि लेखेका छन्, ‘विरामी अवस्थामा पनि ‘ल ल चाँडै ठिक भएर मेरो चाहिँ काम सकाइदिनु पर्यो’ भन्ने चलचित्रकर्मीसँग अझै टिठ लाग्छ । स्क्रिप्ट राइटर प्रिन्टर त होइन नि, एक क्लिकमा प्रिन्ट गर्ने । स्मरण रहोस् २०६५/०६६ मा एकै सातामा २४ वटा चलचित्रको सम्झौता गरेर पनि सबै चलचित्रहरुको स्क्रिप्टहरु समयमा उपलब्ध गराएको नजिर अझै पनि छ ।’
‘पञ्चायत, कोपिला र सुश्री’ फिल्मको निर्देशन समेत गरिसकेका उनले स्क्रिप्ट लेखन शारीरिक काम जति सजिलो नभएकाले मानसिक रुपमा तयार हुन समय लाग्ने तथ्य बुझिदिन फिल्मकर्मीसँग आग्रह गरेका छन् । नेपालमा स्क्रिप्ट राइटिङलाई निकै सामान्य रुपमा लिने गरिएको छ । यही कारण वर्षेनी नेपाली फिल्ममाथि हुने करोडौंको लगानी बालुवामा पानीझैँ भइरहेको छ ।

