अभिनेता कर्मा शाक्य र अभिनेत्री लक्ष्मी बर्देवालाई पहिलो पटक एकसाथ ठूलो पर्दामा देख्न पाइने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएका दुवैको फिल्म ‘अनन्त’ मा जोडी बाँधिएको हो । शनिबारबाट भक्तपुरमा सुटिङ सुरु भएको फिल्मलाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् ।
आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेश गर्ने फिल्मको २० दिनमा छायांकन सक्ने लक्ष्य राखिएको छ । फिल्मको पटकथा निर्देशक जेसनले नै लेखेका हुन् । किपालय प्रोडक्सनको ब्यानरमा नवविजय श्रेष्ठ निर्माता रहेको फिल्मको सह-निर्मातामा रन्जन ढुंगाना र शीतल खड्का छन् । जीवन अधिकारीको पनि मुख्य भूमिका रहने फिल्मलाई बबिन दुलालले खिचिरहेका छन् ।
कर्मा र लक्ष्मी दुवै एकअर्काको ठूलो प्रशंसक रहेको बताउँछन् । कर्माले लक्ष्मीको प्रशंसा गर्दै भने- ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ तर पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ । यो फिल्ममा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’ लक्ष्मीले पनि कर्मासँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् ।
निर्देशक जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक रहेको र उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर ‘अनन्त’ लेखेको बताएका छन् । उनले भने- ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही हो । तर, यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं ।’ फिल्मलाई काठमाडौं भ्यालीमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

