
यतिबेला ओटीटी प्लेटफर्म सिनेमा हलको विकल्प बनेको छ । कोरोनाका कारण हलहरु बन्द भएपछि दर्शकहरुले घरमै बसेर विश्वका फिल्म ओटीटी प्लेटफर्ममा हेरे । सिनेमा हल खुल्ने अनिश्चित हुँदा हलिउड र बलिउडका ठूला फिल्महरु सिधै ओटीटीमा रिलिज भए भने लकडाउनमा ‘कोपिला, हिरो रिर्टन्स’ जस्ता नेपाली फिल्महरुले पनि रिलिजका लागि डिजिटल प्लेटफर्म रोजे ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि फेरि हलहरु बन्द हुने अवस्थामा पुगेका छन् । जसले गर्दा निर्माताहरु तयार भइसकेको फिल्म कप्यूटरमै थन्काउनुभन्दा ओटीटीमा रिलिज गर्न तम्सिएका छन् । फिल्म ‘श्री’ यसको उदाहरण हो । सिनेमा हलका लागि बनाइएको यो फिल्म अब ओटीटीमा रिलिज हुने भएको छ । फिल्मले ओटीटी रिलिज डेट चैत २७ लाई घोषणा गरेको छ ।
शुक्रवार १ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा एकसाथ फिल्म रिलिज हुने जनाएको छ । फिल्ममा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, नवीन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ ।
लकडाउनको समयमा ७२ घण्टामा छायांकन सकिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । सविता गुरुङको निर्माण रहेको फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् । फिल्मलाई शेरबहादुर तामाङले छायांकन गरेका हुन् । पैसाका लागि पात्रहरुको दौडधुप र त्यसले उत्पन्न गर्ने समस्यामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।
ट्रेलर हेर्नुहोस् :-

