
एक समय बलिउड इन्डस्ट्रीमा आफ्नो दबदबा कायम गरेको देओल परिवारको तेस्रो पिढीका राजवीर देओलले पनि फिल्ममा डेब्यू गर्ने भएका छन् । उनी सुपरस्टार सनी देओलका कान्छा छोरा हुन् । यसको जानकारी अभिनेता धर्मेन्द्रले सामाजिक सञ्जालबाट दिएका छन् । राजवीरभन्दा पहिले उनका दाई करन देओलले फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गरेका थिए ।
धर्मेन्द्रले राजवीरको फोटो ट्विटरमा शेयर गर्दै लेखेका छन्, ‘मेरो नाती राजवीर फिल्मी दुनियाँमा कदम राख्न गइरहेको छ । अवनीश बडजात्याको निर्देशनमा बन्ने फिल्मबाट उसले डेब्यू गर्नेछन् । म तपाईंहरुसँग अनुरोध गर्दछु कि दुवै बच्चालाई त्यति नै प्रेम दिनुहोस्, जति मलाई दिनुभएको थियो । गुड लक र गड ब्लेस ।’ त्यस्तै, अवनीशले राजवीरको आँखा बोल्ने बताएका छन् ।
राजश्री फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्म प्रोडक्सन हाउसको ५९औं फिल्म हो । जसलाई बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याका छोराले निर्देशन गर्दैछन् । फिल्म भविष्यमा आउने पिढीसँग जोडिएको प्रेमकथामा आधारित हुनेछ । राजवीरले फिल्ममा नायकको रुपमा डेब्यू गर्नभन्दा अगाडि निर्देशक फिरोज अब्बास खानको असिस्टेन्टको रुपमा काम गरिसकेका छन् ।

