Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृष्ण लीला’ रिलिज अन्योल : एमजीको आशमा निर्माता

फिल्मीखबर, काठमाडौं, 2021/03/31
कोरोना संक्रमणका कारण करीब ९ महिना बन्द भएका सिनेमा हल गएको पुष १० गतेबाट हल सञ्चालकहरुले एकतर्फी रुपमा खोल्ने निर्णय गरे । सरकारले भने पुष ३० गतेबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । सरकारको यो निर्णयले राहत महशुस गरेका हल सञ्चालकहरु तीन महिनादेखि सिनेमा हलमा दर्शकको चाप नबढ्दा पुर्पुरोमा हात राख्न बाध्य छन् । 
 
सरकारले ५० अकुपेन्सीको बन्देज नहटाउँदा आशातित फिल्महरु प्रदर्शनमा आउन सकेका छैनन् । यसका बावजूद पनि चैत २७ गते तीन फिल्मले रिलिज मिति घोषणा गरेका थिए । यसमध्ये ‘लप्पन छप्पन २ र मनसँग मन’ ले भारतमा बढेको संक्रमणको भयले रिलिज पोस्टपोन्ड गरेका छन् । ‘कृष्ण लीला’ भने अहिलेसम्म यो मितिबाट डगमगाएको छैन । तर, प्रचार पनि सुरु गरेको छैन ।
 
भारतमा संक्रमण ह्वात्तै बढेपछि नेपाल सरकारले उच्च सतर्कता अपनाउन र भीडभाड हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । जसले गर्दा भीडभाडयुक्त ठाउँ मानिने सिनेमा हलमा दर्शक घट्न थालेका छन् । यस्तो अवस्थामा फिल्म रिलिज गरेर करोडौंको लगानीमाथि ‘रिक्स’ उठाउन को निर्माता तयार होला र ? ‘कृष्ण लीला’ का निर्माता भने हल सञ्चालकको मुख हेरेर बसेका छन् । 
 
 
फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हल सञ्चालकहरुले लगानी सुरक्षित हुने वातावरण बनाए फिल्म रिलिज गर्न तयार रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म हामी चैत २७ बाट सरेका छैनौं । तर, यो मितिका सबै फिल्म सरिसकेको अवस्थामा हामी पनि करोडौंको लगानीमा रिक्स उठाउन सक्दैनौं । हल सञ्चालकहरुले एमजी दिन्छन् भने हामी पनि रिक्स उठाउन तयार छौं ।’
 
उनले बुधवार साँझसम्म फिल्म चैत २७ मा रिलिज हुने वा नहुने भन्ने कुराको टुंगो लाग्ने बताए । अहिले हल सञ्चालकहरुसँग छलफल भइसकेको उनको भनाई छ । तर, हल व्यवसायीहरु ‘कृष्ण लीला’ निर्माताको कुरा मान्ने पक्षमा छैनन् । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान फिल्मलाई एमजी दिन नसकिने बताउँछन् । 
 
‘कोरोनाले निर्मातालाई मात्र होइन, हल व्यवसायी र वितरकहरुलाई पनि आक्रान्त बनाएको छ । रिक्स निर्माता, हल सञ्चालक र वितरक सबैले लिनुपर्छ । निर्माताहरु बोलीले मात्र रिक्स लिन्छौं भन्नुहुन्छ । रिक्स चाहिँ सबै हामीले लिनुपर्ने रे,’ उनी भन्छन्, ‘बरु, प्रतिशतमा हो भने हामी १०/१५ प्रतिशत बढाएर दिन्छौं । तर, फिक्समा चाहिँ हल सञ्चालकहरुले पनि फिल्म चलाउन सक्दैनन् ।’
 
कोरोना महामारीको समयमा फिक्समा लिएर फिल्म चलाउन पनि समस्या रहेको उनको भनाई छ । उनी अगाडि भन्छन्, ‘दर्शक हलमा आउँछन् कि आउँदैनन् ठेगान छैन । भारतमा पनि ठूला-ठूला फिल्म पोस्टपोन्ड भइरहेका छन् । ‘कृष्ण लीला’ डेढ करोडको फिल्म रे । यो बेला त्यसको ग्यारेन्टी कसरी दिन सकिन्छ र ? बरु, प्रतिशत बढाएर दिन तयार छौं तर फिक्समा चलाउन सक्दैनौं ।’
 
५० प्रतिशत अकुपेन्सी कायम रहनु र कोरोनाले भयले पुनः हलमा दर्शक पातलिँदै जाँदा करोडौंको लगानीमा रिक्स उठाउन निर्माताहरु तयार छैनन् । वितरक तथा हल सञ्चालकहरु पनि एमजी दिएर फिल्म चलाउने पक्षमा देखिएका छैनन् । दुवै पक्ष रिक्स उठाउन तयार नहुँदा फिल्म क्षेत्र फेरि थला पर्ने स्थितिमा पुगेको छ । यस्तो अवस्थामा चलचित्र विकास बोर्ड चाहिँ कता छ कुन्नी ?
Most Visited News (monthly)