.jpg)
एक समय म्यूजिक भिडियोमा राम्रो माग भएकी मोडल हुन्, अकेशा विष्ट । दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले सन् २०१५ मा निकेश खड्काको निर्देशनमा बनेको फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी फिल्म क्षेत्रबाट हराईन् । अहिले उनी परिवारसँग अमेरिकामा बस्दै आएकी छन् ।
उनै, अकेशा ६ वर्षपछि फिल्म अभिनयमा फर्किने भएकी छन् । फिल्म ‘लाइफ इन एलए’ बाट उनले कमब्याक गर्न लागेकी हुन् । गत शुक्रवार अमेरिकामा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । अप्रिलको पहिलो साताबाट फिल्मको छायांकन अमेरिकाको एलएबाट सुरु हुनेछ । नेपालको पोखरामा पनि छायांकन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा बन्ने फिल्ममा अकेशासँगै बास बिष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी, विशाल ढकालको मुख्य भूमिका रहनेछ । वाश इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गर्दैछन् । संसार ए सुवेदी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी छन् । सुदिप बरालले फिल्म खिच्नेछन् ।

