.jpg)
एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु नेपालमा सामान्य भइसकेको छ । कोरोना महामारीअघि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुने गरेको थियो । विदेशी फिल्मसँग भिड्नु परे कुना पस्ने तर नेपाली फिल्मसँग भिड्न बहादुरी देखाउने निर्माताको संख्या नेपालमा ठूलो छ । एकले अर्कालाई डुबाउने खेलले नेपाली निर्माताहरु आ-आफैं डुबिरहेका छन् ।
एकै मितिमा एउटै कलाकारको दुईवटा फिल्म भिडाउन समेत नेपाली निर्मातालाई हिनताबोध हुँदैन । चैत २७ गते यस्तै हुँदै थियो । अभिनेता पुष्प खड्काका दुई फिल्म ‘कृष्ण लीला र मनसँग मन’ एकअर्कासँग भिड्न तयारी अवस्थामा थिए । तर, अब यी दुई फिल्मको भिडन्त टरेको छ । ‘मनसँग मन’ ले मंगलवार कोरोनाका कारण रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड गरेको छ ।
यसअघि यो मितिमा ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । केही दिन अगाडि यसले पनि कोरोनाका कारण रिलिज स्थगित गर्यो । अहिलेसम्म ‘कृष्ण लीला’ भने घोषित मितिमै अडिग छ । तर, सिनेमा हलमा प्रदर्शन हुन १५ दिन पनि बाँकी नहुँदा निर्माण टिमले प्रचार-प्रसार सुरु गरेको छैन । जसले गर्दा फिल्मको रिलिज सर्न सक्ने चर्चा फिल्मवृतमा सुरु भएको छ ।
यो फिल्म निर्धारित मितिमै प्रदर्शनमा आउँदा पनि अब पुष्पलाई तनाव छैन । किनकि, फिल्मले एकल रिलिजको मौका पाएको छ र उनी अभिनीत अर्को फिल्म ‘मनसँग मन’ को रिलिज सरेको छ । जसले गर्दा पुष्पले राहतको महशुस गरेका छन् । दुवै फिल्म एकै मितिमा भिडेको भए उनको करिअर नै संकटमा पर्न सक्थ्यो । अब नयाँ वर्षमा ‘कृष्ण लीला’ पो आउने होकि होइन कुन्नी ?

