.jpg)
कोशी भिजनको ब्यानरमा फिल्म ‘अभियान’ निर्माण हुने भएको छ । आइतवार सुनसरीको इटहरीस्थित एक गुम्बामा शुभ मुहूर्त गरिएको फिल्मको चैत १७ गत्बाट छायांकन सुरु हुँदैछ । मुहूर्त समारोहमा फिल्मको टिमसँगै चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायतको उपस्थिति रहेको थियो ।
ऐतिहासिक तामाङ थाकथलो (किपट) को कथामा बन्ने फिल्मको मुख्य भूमिकामा जयनन्द लामा, दिनेश कोइराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई र कुमारी मेयाङ्बो रहेका छन् । फिल्म रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे र इलाममा खिचिनेछ ।
लाखमान योन्जन तामाङको निर्देशनमा बन्न लागेको फिल्मको कथा पनि उनी स्वयंले तयार पारेका हुन् । उनले विगत लामो समयदेखि प्रदेश १ मा बसेर फिल्मको लेखन, निर्माण र निर्देशन गर्दै आइरहेका छन् । फिल्ममा सुमन तामाङको छायांकन, हेमन तामाङको सम्पादन, जोनी योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको संगीत र सुरज रौनियारको गीतमा गायन रहनेछ ।

