

बेलायतको शेफिल्ड डकफेस्टमा सहभागी हुन पाँच नेपाली महिला चलचित्र निर्माताहरू बेलायत जाने भएका छन् । बेलायतको तास्कोभस्की फिल्म्सको नेतृत्वमा रहेको ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रम मार्फत नेपाल महिला चलचित्र निर्माताहरु र पामे चलचित्र तथा संगीत महोत्सवको सहकार्यमा यो प्रतिनिधिमण्डल बेलायत जान लागेको जारी प्रेस विज्ञप्तीमा बताईएको छ ।

आगामी भदौ १० गतेबाट प्रदर्शन मिति तोकिएको सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ र दिव्य देव पन्तलाई देख्न सकिन्छ । सौगात ड्राइभर र दयाहाङ डिएसपीको चरित्रमा प्रस्तुत छन् ।

राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक भएको छ । यही असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ३ मिनेट लामो ट्रेलरमा फिल्मको हिरोइन बन्न संघर्ष गरिरहेकी केकी अधिकारी र उनको पछि लागेका चारजना पुरुष पात्रको कथालाई देखाइएको छ । ट्रेलरमा हँसाउने नाममा भद्दा दृश्य र दुईअर्थी संवाद समेत प्रयोग गरिएको छ ।

अभिनेत्री तथा मोडल सुनिशा बजगाईंले कलाकार समेत रहेका प्रेमी राज आचार्यसँग विवाह गरेकी छन् । मंगलवार कालोपुलस्थित शुभम् पाटी प्यालेसमा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो । उनीहरुको विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तका साथै केही कलाकारहरुको पनि उपस्थिति रहेको थियो । राजसँग सुनिशा विगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् ।


