.jpg)
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सकिएको छ । गत वैशाख १६ गतेबाट सर्लाहीमा सुरु भएको फिल्मको छायांकन तीन चरणमा गरी ९० दिनमा पूरा भएको हो । सर्लाहीसहित काभ्रेको दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।
अस्त्र फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातसहित सोफी धरेल, सुधन पोखरेल, जीवन भट्टराईलगायतको अभिनय रहेको छ । सोफीले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । प्रकाश कर्णको निर्देशनमा बनेको फिल्ममा सजना थापा निर्माता तथा शेखर पाण्डे सह-निर्मातामा छन् । फिल्ममा प्रकाश कर्णको कथा तथा वर्षा पौडेलको पटकथा लेखन छ ।
करिब ५० को दशकको कथावस्तुमा निर्माण भएको फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् । ‘देवदास’, ‘रङ दे बसन्ती’, ‘भाग मिल्खा भाग’ जस्ता भारतीय फिल्म खिचिसकेका उनले ‘दक्षिणा’, ‘त्रिशूली’, ‘अन्याय’, ‘चिनो’, ‘कोसेली’ जस्ता नेपाली फिल्मको पनि छायांकन गरेका छन् । उनले पछिल्लो पटक नेपाली फिल्म ‘पहाड’ खिचेका थिए ।

