Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हनुमान अंश’को रेकर्डै रेकर्ड : बन्यो सर्वाधिक नाफा कमाउने हिन्दी फिल्म

एजेन्सी, काठमाडौं, 2026/10/07

hanuman ansh

 

विशाल चतुर्वेदीको निर्देशन तथा शोभिनव सत्याको अभिनय रहेको फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा गरेको प्रदर्शन कुनै चमत्कारभन्दा कम छैन । भारु १ करोड ८० लाख रुपैयाँको मामुली बजेटमा बनेको फिल्मले पहिलो दिन जम्मा १० लाख रुपैयाँ कमाएको थियो । दुई सातासम्म व्यापारिक गति सुस्त रहँदा फिल्मलाई फ्लप भन्न थालिएको थियो । 

तर, तेस्रो साताबाट फिल्मले बक्स अफिसमा जुन रफ्तार समात्यो, त्यसले बलिउड नै चकित पर्‍यो । प्रदर्शनको ६१ दिनमा आइपुग्दा फिल्मले भारतमा ३२६ करोड ४८ लाख रुपैयाँ नेट र विश्वभर ४२५ करोड ५२ लाख ग्रस कमाइ गरेको छ । योसँगै ‘हनुमान अंश’ बलिउडको सबैभन्दा धेरै मुनाफा कमाउने फिल्म बनेको छ । फिल्मले कमाइमा ६ वटा रेकर्ड समेत बनाएको छ । 

१. हिन्दी फिल्मकै सबैभन्दा धेरै मुनाफा कमाउने फिल्म

‘हनुमान अंश’ले हिन्दी फिल्ममा सबैभन्दा धेरै मुनाफा कमाउने फिल्मको कीर्तिमान बनाएको छ । १ करोड ८० लाख रुपैयाँको बजेटमा बनेको फिल्मले बक्स अफिसमा ३२३ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अर्थात् फिल्मले लगानीको तुलनामा १७,९८२.२२ प्रतिशत मुनाफा दिएको छ । कुनै पनि निर्माताका लागि यो चमत्कारिक आँकडा हो । 

२. सबैभन्दा धेरै मुनाफा कमाउने भक्तिप्रधान फिल्म

बलिउडको एक सय वर्ष लामो इतिहासमा ‘हनुमान अंश’ सबैभन्दा धेरै मुनाफा कमाउने भक्तिप्रधान फिल्म बनेको छ । यसअघि यो कीर्तिमान ‘जय सन्तोषी माँ’को नाममा थियो । सन् १९७५ मा प्रदर्शनमा आएको उक्त फिल्मले भारतमा ५ करोड २५ लाख रुपैयाँ कमाएको थियो । जबकि, फिल्म ३० लाख भारुको बजेटमा निर्माण भएको थियो ।

३. सुस्त सुरुवातपछि ब्लकबस्टर 

‘हनुमान अंश’ले प्रदर्शनको पहिलो दिन १० लाख रुपैयाँ कमाएको थियो । दुई हप्तासम्म फिल्मको कमाइ जम्मा ४० लाख मात्र थियो । तर, तेस्रो साताको आइतबारबाट फिल्मको कमाइमा एकाएक वृद्धि भयो । त्यसपछि फिल्मले लगातार ६ सातासम्म करोडमा व्यापार गर्‍यो । अहिलेसम्म फिल्मले विश्वभर ४२५ करोड ५२ लाख रुपैयाँ कमाएर इतिहास रचेको छ ।

४. पाँचौँ सातामा सबैभन्दा ठूलो कमाइको कीर्तिमान

फिल्मले प्रदर्शनको पाँचौँ साता सबैभन्दा धेरै कमाइ गरेको थियो । त्यस साता फिल्मले ९० करोड २५ लाख रुपैयाँ कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो हिन्दी फिल्मको इतिहासमा पाँचौँ सातामा कुनै फिल्मले गरेको सबैभन्दा ठूलो कमाइ हो । फिल्मले छैटौँ सातामा पनि ८० करोडमाथिको व्यापार गर्दै अर्को कीर्तिमान बनाएको थियो । 

५. ६१औँ दिनमा पनि करोडको कमाइ

‘हनुमान अंश’ प्रदर्शनमा आएको ६१ दिन भइसकेको छ र अझै पनि फिल्मले भारतमा दैनिक करोडको व्यापार गरिरहेको छ । प्रदर्शनको ६१औँ दिन (मंगलबार) समेत फिल्मले १ करोड रुपैयाँ कमाएको भारतीय ट्रेड पोर्टल स्याकनिल्कले जनाएको छ । यसलाई भारतीय फिल्मको इतिहासकै सबैभन्दा ठूलो कीर्तिमान मानिएको छ । 

६. सन् २०२६ को तेस्रो ठूलो फिल्म

प्रदर्शनको ६१ दिनमा ३२६ करोड ४८ लाख रुपैयाँ कमाउँदै ‘हनुमान अंश’ सन् २०२६ को तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ । शीर्ष स्थानमा १ हजार करोडसहित ‘धुरन्धर २’ र ३ सय ४१ करोडसहित ‘बोर्डर २’ दोस्रो स्थानमा छ । अब ‘हनुमान अंश’लाई अजय देवगन अभिनीत ‘दृश्यम ३’ले चौथो स्थानमा झार्न सक्ने सम्भावना देखिएको छ ।